भण्टावारी/ सुनसरीको दक्षिणवर्ती क्षेत्र घुस्की नाकाबाट सुरक्षाकर्मीकै मिलेमतोमा दैनिक लाखौंको तस्करी हुने गरेको पाइएको छ । चोरी–पैठारी नियन्त्रण गरी राजस्व वृद्धि तथा शान्तिसुरक्षा मजबुत बनाउन घुस्की नाकामा परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको बताइएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा घुमुवा प्रहरी सीमामा तैनाथ गरिए पनि तस्करी नियन्त्रणमा आएको छैन । नेपाल–भारतबीचको खुला नाकाका कारण घुस्की, साहेवगञ्ज, वसन्तपुर, कप्तानगञ्जसहितका नाका हुँदै दिनहुँ तस्करी गर्ने गिरोह सक्रिय रहेको छ ।
अवैधानिक रूपमा दैनिक लाखौंको भन्सार छल्ने तस्करहरूसँग असुली गर्न सीमावर्ती क्षेत्रहरूमा सादा पोसाकमा प्रहरी भेटिने गरेको स्थानीय बताउँछन् ।
चोरी, हत्या, बलात्कारजस्ता सङ्गठित अपराधमा संलग्न अपराधीहरूलाई नियन्त्रण गर्नका लागि विशेष परिस्थितिमा बिना वर्दीको प्रहरी सुराकी दिन प्रयोग गरिने व्यवस्था भए पनि ठीक विपरीत कार्यका लागि सुनसरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवा प्रहरी परिचालन गरिएका छन् । अपराध नियन्त्रण गर्नका लागि परिचालन गरिएका सादा पोसाकका विशेष प्रहरीले मोटरसाइकलमा गएर रकम कलेक्सन गर्ने कार्य गर्दै आएका छन् । केही समय अगाडिसम्म सुनसरीको श्रीपुर र भण्टाबारी नाकाबाट तस्करी हुने गरेको भए पनि हाल तस्करहरूको लागि घुस्की नाका ‘सेफ जोन’ बनेको बताइएको छ । भण्टाबारीको मुख्य नाकामै सिसिटिभी जडान गरिएको हुँदा उक्त नाकाबाट लाइन दिन प्रहरी नमानेको र श्रीपुर नाकाबाट कालो मरिच तस्करी हुने गरेको समाचार प्रकाशित भएपछि तस्करहरूले घुस्की नाका रोजेका हुन् ।
दैनिक लाखौंको तस्करी गर्ने तस्करहरूलाई प्रश्रय दिने सशस्त्र प्रहरीले सर्वसाधारणले आफ्नो जीविकोपार्जनको लागि भारतबाट थारै परिमाणमा सामान खरिद गरी ल्याउँदा नियन्त्रणमा लिई दुःख दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा घुस्कीका एकजनाले बताए । मासिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम तस्करहरूबाट लिएर तस्करी गराउँदै आएको आरोप लगाउँदै ती व्यक्तिले भने, ‘ठूला तस्करहरूसँग मिलेर सुरक्षाकर्मीले तस्करी गराउने र जीविका चलाउन ल्याउने गरिबको सामान पक्रेर दुःख दिने गरेका छन् ।’
घुस्की नाकाबाट सशस्त्र प्रहरी आफैले मरिच सीमा कटाउने गरेको ती व्यक्तिको दाबी छ । जाडो मौसम भएकोले राति ८ र ९ बजेभित्र र बिहान ३ देखि ५ बजेको समयमा मोटरसाइकलमा कालो मरिच नेपालबाट भारततर्फ हप्तामा ३ देखि ४ पटकसम्म तस्करी हुने गरेको उनले बताए । नेपालबाट कालो मरिच र गोरुसँगै भारतबाट बोइलर कुखुरा, लत्ताकपडा, इलेक्ट्रोनिक सामान सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी हुने गरेको स्रोतको भनाइ छ । महिनावारी दिएमा अवस्था सामान्य तर नदिएमा सामान पक्राउ गरी भन्सारमा बुझाउने कार्य सीमावर्ती क्षेत्रका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका इञ्चार्जहरूले नै गरिरहेका छन् ।
सीमावर्ती क्षेत्रबाट अवैध रूपमा हुने तस्करी नियन्त्रण बारे अहिले चासो र गम्भीर नभएमा राजस्व असुलीमा कमी आउने देखिन्छ । खुलेआम तस्करी भएको बारे जिज्ञासा राख्दा बिओपी घुस्कीका इन्स्पेक्टर डिगेन्द्र ओलीले कालो मरिच र गोरुसँगै भारतबाट भन्सार छलेर ल्याउने बोइलर कुखुरा, इलेक्ट्रोनिक्स सामानका बारे बोल्न चाहेनन् भने लत्ताकपडा तस्करी नियन्त्रण गर्न आफू लागिपरेको बताए ।