धरान/ धरान–१२ स्थित मिक कम्प्युटर प्रालिले विगत वर्षहरूमा झै यस वर्ष पनि ५ सय २५ जनालाई निःशुल्क कम्प्युटर शिक्षा दिने भएको छ ।

प्रालिले कम्प्युटर शिक्षा लिनबाट बञ्चित गरिब तथा विपन्नहरूलाई लक्षित गर्दै निःशुल्क तीन महिने तालिम दिन लागेको हो । स्वीट नेपालको आर्थिक सहयोगमा हुने तीन महिने कम्प्युटर कोर्षमा बेसिक, हार्डवेयर, डिटिपी, डाटाबवेस, मल्टिमिडिया, ग्राफिक डिजाइनिङ, वेव पेज डिजाइनिङ, ट्याली, र सर्भर नेटवर्किङका विषयमा तालिम दिइने प्रालिका प्रबन्ध निर्देशक राजकुमार थोप्राले जानकारी दिए ।

२०५० सालमा स्थापित मिकले हालसम्म ३५ औं हजारलाई यो तालिमबाट प्रशिक्षित गराइसकेको छ । तालिम माघ १९ गतेदेखि शुरु हुने मिक कम्प्युटरले जानकारी दिएको छ । तालिम लिन चाहनेमध्येबाट छनौट हुन नसकेकाहरूलाई ७५ प्रतिशत छुटमा तालिम प्रदान गरिने पनि जनाइएको छ ।