वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले जग्गा व्यवसायीसँग व्यवसायिक प्रयोजनको लागि प्लटिङमा वडानम्बर ३ को कार्यालय निर्माण गर्ने सम्झौता गरेको भन्दै नगरपालिकाको प्रवक्ता रुद्र दाहालले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।
दाहालले पुस १६ गते प्रेस विज्ञप्ति जारी गरी राजीनामा दिएका हुन् । मेयर निलम खनालले वडाको भवन निर्माणमा २०७६ वैशाख २७ गते वडा कार्यालय निर्माण तथा स्थानीय सरकार ऐन २०७४ ले दिएको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । नगरप्रमुख खनालको कार्यप्रति आफू असहमत भएकोे भन्दै सम्झौता साथ नसच्याए वडाध्यक्ष पदबाटसमेत राजीनामा दिने चेतावनी दिएका छन् ।
नगरसभाले वडाको नडाहा चौकमा वडाको कार्यालय भवन निर्माणको लागि बजेट विनियोजनसमेत गरिसकेको छ । भवन निर्माण शुरु हुन लाग्दा मेयरले मिलेमतोमा कार्यालय वडाको भानुचौकमा सार्न खोजेको आरोप प्रवक्ता दाहालले लगाए । भवन निर्माणको ठेक्कासमेत आह्वान गरिसकिएको अवस्थामा भानुचौकमा ६ कठ्ठा जमिन पाउने लोभमा मेयर खनालले भवन अन्तै सार्न लागेको दाहालले गुनासो गरे । जग्गा व्यवसायीको हितमा मेयरले काम गरेको भन्दै दाहालले मेयरसँग कुनै व्यक्तिगत रिसइबी नभएको बताउँदै आफू जहिले पनि जनताको हितमा काम गर्ने टेलिफोन कुराकानीमा बताए । यस सम्बन्धमा नगरप्रमुख खनालसँग पटक–पटक सम्पर्क गर्दा उनको फोन स्वीच अफ रहेको थियो ।