इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ६ लेन सडकको इटहरीमै दुईवटा मापदण्ड भएको छ । इटहरीदेखि तरहरा र इटहरीदेखि विराटनगर लाइनको बाटोमा फरक–फरक मापदण्ड निर्धारण गरिएको छ ।
विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको सडक ६ लेनमा विस्तार गर्न विभिन्न प्याकेजमा भएको काममा फरक–फरक मापदण्ड हुँदा इटहरी चौकमै फरक मापदण्ड भएको पाइएको हो । इटहरी चौकदेखि तरहरासम्मको ४ किलोमिटरको सडकको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर कायम गरे पनि इटहरीदेखि विराटनगरलाइनको सडकमा सडकको केन्द्रदेखि दायाँ–बायाँ १५–१५ मिटर मात्र कायम भएको सडक विस्तार आयोजनाले जनाएको छ ।
सडक विस्तार आयोजना इटहरीका प्रमुख बद्रीप्रसाद शर्माले पहिला बनेकै डिपिआरको आधारमा अहिले सडक निर्माण भइरहेको बताए । ‘इटहरी चौकदेखि विराटनगर लाइनको बाटोमा विराटनगरबाटै आएको मापदण्डअनुसार निर्माणको काम शुरु गरेका छौं’ उनले भने, ‘इटहरीदेखि विराटनगर लाइनको बाटो विस्तार थोरै साघँुरो हुन्छ ।’
तरहरादेखि धरानसम्मको ९ किलोमिटर सडक एक महिनापछि विस्तार हुने आयोजनाले जनाएको छ । ‘तरहरादेखि धरानसम्म चारकोसे झाडी भएको कारण सडकको केन्द्रदेखि दायाँ–बायाँ २३–२३ मिटर कायम रहने गरी सडक विस्तार हुन्छ’ –आयोजना प्रमुख शर्माले भने । दुहबीमा भने समस्या भएकै कारण अहिलेसम्म सडक विस्तारको काम अगाडि बढ्न नसकेको उनको भनाइ थियो ।
इटहरी सङ्घर्ष समितिको आपत्ति
एउटै सडकको मनपरी मापदण्ड कायम गरेको भन्दै केही समयदेखि सङ्घर्षमा उत्रिएको ६ लेन सडक सङ्घर्ष समितिले आपत्ति जनाएको छ । इटहरी चौकमा नै एउटै सडकको दुई मापदण्ड भएको भन्दै सङ्घर्ष समितिले आपत्ति जनाएको हो । सङ्घर्ष समितिका संयोजक मदन चूडालले एउटै शहरमा दुईवटा मापदण्ड हुनु आश्चर्य भएको भन्दै मुआब्जा दिएर भए पनि एउटै मापदण्डको सडक निर्माण गर्नुपर्ने माग गरे । सरकारी निकायले यसलाई गम्भीरताका साथ नलिएको कारण मनपरी मापदण्ड बनाएकोप्रति चूडालले आपत्ति जनाए ।
आइतबार आयोजनाको कार्यालयमा पुगेर सङ्घर्ष समितिले आयोजनालाई सरकारी निर्देशन पालना गरेर एकरूपता कायम गर्न माग गरेको छ । ‘आयोजना प्रमुखले स्थानीय सरकारसँग छलफल गरेर अगाडि बढ्छु भन्नुभएको छ’ –सङ्घर्ष समितिका अध्यक्ष चूडालले भने । यही बाटोको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
विस्तार कार्य सुस्त
प्रदेश १ को मेरुदण्डको रूपमा विकास गर्न खोजिएको भारत र चीन जोड्ने कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक योजना विस्तारको काम सरकारी बेवास्ताका कारण सुस्त गतिमा छ । सडक विस्तारमा विभिन्न कारण देखाउँदै आयोजनाले विस्तार कार्य द्रुत गतिमा अगाडि बढाउन सकेको छैन । ०६९÷७० बाट विराटनगरको रानी हुँदै इटहरी र धरान जोड्ने मार्ग ६ लेनमा विस्तार गर्ने काम थालनी भएको थियो । सम्झौताअनुसार आयोजनाले यो आर्थिक वर्षमा सडक विस्तारको काम सक्नुपर्ने थियो । कुल ४९ कि.मी. लामो सडकको लागत १० अर्ब ९८ करोडमा सो सडकको विस्तारकार्य ठेक्का लागेको थियो ।
६ लेनको मनपरी मापदण्ड
विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्म ६ लेनमा विस्तार गर्ने भनिए पनि यो सडक विस्तारका क्रममा मनपरी मापदण्ड तयार पारिएको छ । विस्तार गरिएको सडक केन्द्र विन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर चौडाइमा ६ लेनमा विस्तार हुनुपर्ने मापदण्ड भए पनि विराटनगर र दुहबी क्षेत्रमा सडकको चौडाइ घटाइएको छ । सडक विस्तार भएका अन्य खण्डमा पनि सबै क्षेत्रमा यो मापदण्डलाई अवलम्बन गरेको पाइँदैन ।
तत्कालीन पञ्चायत सरकारको पालामा राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ अन्तर्गत २०२१ साल फागुन ११ गतेको सूचना बमोजिम जोगबनी–विराटनगर, विराटनगर–धरान सडकको सडक सीमा सडक केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ गज कायम गरिएको थियो । तर राजनीतिक स्वार्थका कारण अहिले मनपरी मापदण्ड कायम गरिएको छ ।