बिर्तामोड/ कुटपिट घटनाको निवेदन बोकेर न्यायका लागि प्रहरी कार्यालय गएका स्थानीयमाथि प्रहरीकै इञ्चार्जले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
झापा गाउँपालिकाको इलाका प्रहरी कार्यालय कुमरखोदका सई मानबहादुर जिम्बाले सोही गाउँपालिका–२ सृजनाबस्ती बस्ने रामदेव राजवंशीलाई अश्लील शब्द प्रयोग गर्दै कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका हुन् ।
गत शुक्रबार निवेदन लिएर न्याय माग्न गएका रामदेवलाई सइ जिम्बाले मादक पदार्थ सेवन गरी प्रहरी कार्यालयभित्रै गाला र हातमा हिर्काएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीको भनाइ छ । ‘गाउँमा कुटपिटको घटना भएपछि पीडित पक्षको तर्फबाट न्यायका लागि निवेदन दर्ता गराउन इलाका प्रहरी कार्यालय कुमरखोद गएका थियौं’ प्रहरीको कुटाइबाट पीडितका रामदेव भने–‘प्रहरी कार्यालयमा जाँदा सइ सा’ब प्रहरी पोसाकमै केही व्यक्तिसँग खानपिनमा व्यस्त हुनुहुन्थ्यो, मैले कुटपिट भएको विषयमा निवेदन दर्ता गराउन आएको भन्दा सइ सा’ब मै माथि खनिनुभयो ।’
मादक पदार्थ सेवन गरेका जिम्बाले अहिले निवेदन दर्ता हुँदैन भन्दै गालामा एक झापड हिर्काएको र त्यसपछि रातो रङको कुर्सी उठाएर हातमा हिर्काएको उनले बताए । ‘न्यायका लागि प्रहरी कार्यालय जाँदा प्रहरी इञ्चार्जले उल्टै पीडितलाई हातपात गर्छन् भने न्यायका लागि कहाँ जानु ?’ उनले भने, ‘सइ सा’बले हातपात गरेको सबै समक्ष स्वीकार गरिसकेकोले उनलाई कारबाही हुनुपर्छ, नत्र यहाँका स्थानीयले कहिल्यै न्याय पाउँदैनन् ।’
रामदेवले ठूला तथा सीमा अवैध व्यापार गर्ने व्यक्तिसँग मात्र सङ्गत गर्दै आइरहेका सइले गरिब जनताको मर्म र पीडाअनुसार काम नगरेको गुनासो गरे । सइ जिम्बाले गाउँमा कुटपिट भएको घटनाको विषयमा शुक्रबार नै निवेदन दर्ता गराइसकेको र कसैलाई कुटपिट नगरेको दाबी गरेका छन् ।
शुक्रबार बेलुका रामदेव राजवंशी र पुष्पत माझी प्रहरी कार्यालय आएको बताउँदै उनले भने, ‘उनीहरूलाई सम्झाएर पठाएको हो, त्यसबेला म अर्कै घटनाका कारण तनावमा भएकोले अलि ठूलो स्वरले बोलेँछु ।’ विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले घटनास्थल गएर सम्बन्धित पक्षसँग सोधपुछ गरेको जिम्बाले जानकारी दिए । उनले चर्काे स्वरमा बोलेको घटनालाई कुटपिट भएको भनेर गलत प्रचार भइरहेको समेत बताए ।