भण्टाबारी/ सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजमा इण्डो–नेपाल सहायता कक्ष स्थापना गरिएको छ ।
भारतबाट आउने मालवाहक गाडीलाई सीमावर्ती क्षेत्र हुँदै नेपाल प्रवेशमा सहयोग गर्ने उद्देश्यले सोमबार उक्त सहायता कक्ष स्थापना गरिएको हो । भारतीय मालवाहक गाडीको सहजताका लागि इण्डो–नेपाल ट्रान्सपोर्ट वेल्फेयर कम्पनीले स्थापना गरेको सो सहायता कक्षमा भारतीय मालवाहक गाडी चालकहरूले पुर्जी कटाएर सहयोग लिनसक्ने कम्पनीका अध्यक्ष वसन्त तिवारी बुद्धले जानकारी दिए ।
‘नेपालका कानूनका बारे उनीहरूलाई जानकारी हुँदैन, दुर्घटनामा परिहालेमा समस्यै समस्या हुन्छ, भाषाको समस्या हुन्छ’ तिवारीले भने, ‘अब त्यस्तो समस्या हुँदैन । हामीले उनीहरूलाई विभिन्न शाखा, उपशाखा र सम्पर्क कार्यालयबाट त्यस्ता समस्याका बारेमा जानकारी दिन्छौं ।’
भारतबाट सामान बोकेर नेपाल आउने गाडीलाई आवत–जावतका साथै कानूनी हिसाबले सहयोग गर्न सहायताकक्ष स्थापना गरिएको उनले बताए । कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजमा सम्पर्क कार्यालय रहने गरी सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका भन्सार अधिकृत प्रमोद दास, बिओपी भण्टाबारीका इन्स्पेक्टर निरीक्षक प्रेमसिंह विष्ट, प्रहरी चौकी कोशी ब्यारेजका असइ बिनबहादुर पाण्डे, व्यवसायी, स्थानीय सञ्चारकर्मी, एजेण्टसहितको उपस्थितिमा इण्डो–नेपाल ट्रान्सपोर्ट वेल्फेयर कम्पनीले सम्पर्क कार्यालय स्थापना गरेको हो ।
इण्डो–नेपाल ट्रान्सपोर्ट वेल्फेयर कम्पनीको प्रधान कार्यालय काँकडभिट्टामा रहेको छ भने विराटनगर–१५ स्थित रानीमा शाखा कार्यालय स्थापना गरिएको छ । इण्डो–नेपाल ट्रान्सपोर्ट वेल्फेयर कम्पनीले भारतबाट सामान बोकेर आउने भारतीय गाडीलाई ट्राफिक नियमका बारेमा जानकारी गराउँदै दुर्घटनाबाट बचाउने प्रयत्न गर्दै आएको उनले बताए ।
भारतीय गाडीलाई लक्षित गरेर कम्पनीले कोषसमेत स्थापना गरेको र हाल कोषमा ५१ लाख रुपैयाँ जम्मा गरिएको अध्यक्ष तिवारीको भनाइ छ । सहायता कक्ष उद्घाटन कार्यक्रममा सञ्चालक समितिका सदस्य कपिल थापा, शङ्कर पौडेल, हासिल शेख, तारादेवी पौडेल, सरजुग सरदार, बलराम क्षेत्रीलगायत उपस्थित थिए ।