इटहरी/ इटहरी– ८ का फन्सबहादुर लिम्बू विगत दश वर्षदेखि कुखुरा पालन गरेर परिवार पाल्दै आएका छन् । विदेश जान मन नलागे पछि कुुखुरा पालनमा होमिएका लिम्बू अहिले सँगैको साथीभाइ भन्दा खुशी छन् । कुखुराको फर्ममा छिरेर कुखुरा देखाउँदै उनले भने, ‘अब विदेश जानु छैन, यहीँ बसेर आम्दानी गर्नुछ ।

तेह्रथुमबाट २०६१ सालमा इटहरी झरेका लिम्बू अहिले व्यावसायिक भएका छन् । विदेश जानु भन्दा पनि व्यवसाय नै गर्नुपर्छ भनेर १० वर्षदेखि कुखुरा पालनमा लागेको उनी बताउँछन् । ५ वर्षसम्म रिक्सा बनाउने काम गरेका लिम्बूले भने हाम्रो व्यावसाय धराशायी भए पछि कुखुरा पालन थालेको उनी बताउँछन् । ब्रोइलर कुखुरा पालनमा खटे । ‘विदेशमा भौंतारिनुभन्दा यहीं काम गर्ने जाँगर चल्यो,’ लिम्बूले भने, ‘विदेशिएकाले कमाउने र अरूको दुख सुनेर नै विदेश जान मन लागेन उनी भन्छन् ।

निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लान थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको अनुभव छ । तर, जोखिमसमेत उति नै छ, लिम्बूले भने । ‘पहिलो पटक कुखुरा पालन गर्ने सिके, शुरुमा झन्झट लागे पनि परिवार पाल्न मेहेनत गर्न थाले । उनले हुर्किरहेका चल्ला देखाउँदै भने, ‘बिस्तारै यसबारे ज्ञान बढ्दै गएपछि जाँगर चल्न थाल्यो । इटहरीमा नै योल सप्लायर्स नामक मासु पसल सञ्चालनमा ल्याएको र उत्पादन भएको कुखुरा आफ्नै पसलबाट बेच्दै आएको उनको भनाइ छ ।

श्रीमती सावित्रा लिम्बूले कुखुरा काट्ने व्यवसाय सम्हाल्छिन् । म यहाँ कुखुरा उत्पादन गर्छु लिम्बूले भने । ‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरा पालनमा लागे यसैको आम्दानीले जीवनस्तर पनि उठ्यो,’ उनले भने, ‘शुरुमा ढङ्ग नपु¥याएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडि फर्कनुपरेन ।’

‘एक छोरा र एक छोरी बोर्डिङ नै पढाएको छु’, उनी भन्छन् । विदेशिनुको सट्टा कुखुरा पालन गरेर राम्रै कमाइ गरिरहेका युवायुवती हिजोआज गाउँपिच्छे भेटिन्छन् । बजारमा माग बढिरहेकाले युवावर्गले ब्रोइलर कुखुरा पालनलाई बलियो व्यवसाय बनाएको सर्वसाधरण बताउँछन ।‘ठूलो आम्दानी हुने देखेपछि कुखुरा पालनप्रति युवाको आकर्षण बढिरहेको देखिन्छ । व्यवसायमा जोखिम समेत बढ्दै गएको उनी बताउँछन् ।

विश्व पोल्ट्री बजारमा छिमेकी देश भारत र चीनको भूमिका निकै दरिलो छ । नेपाल पनि यो व्यवसायमा आत्मनिर्भर नजिक पुगेको छ । पोल्ट्रीका लागि आवश्यक कच्चा पदार्थमा छिमेकीकै भर पर्नुपर्ने बाध्यकारी अवस्थाले भने नेपालमा सोचेजस्तो व्यवसायको स्तरोन्नति हुन सकेको छैन । पोल्ट्री व्यवसाय गर्नेहरूको जमात बढे पनि अन्तर्राष्ट्रिय पोल्ट्री बजारमा नेपालले पहुँच जमाउन भने अझै केही समय लाग्ने देखिन्छ ।

दानाको मूल्य दाना कम्पनीले तोक्ने, चल्लाको भाउ ह्याचरी कम्पनीले तोक्ने । बजार भाउ भने बिचौलिया अर्थात् कोल्ड स्टोर्सहरूले तोक्ने । किसानले भने आफ्नो वस्तुको मूल्याङ्कन अरूलाई गर्न लगाउनुपर्ने । आफ्नो वस्तुको मूल्य अरूलाई तोक्न लगाउनुपर्ने । दाना कम्पनीले जति मूल्य भन्यो, त्यति नै तिर्न तयार हुनुपर्ने । ह्याचरी कम्पनीले जति भन्यो त्यतिमै चल्ला खरिद गर्नुपर्ने समस्या बढ्दै गएको व्यापारीहरू बताउँछन् ।