धरान/ भोक लाग्यो, खरर होम डेलिभरी । फोन गर्नेबित्तिकै घरमै थरीथरीका परिकार । धरानमा यस्तो सुविधा शुरु भएको एक वर्ष बितिसकेको छ । शहरको भोकलाई ‘भोकलाग्यो डटकम’ ले यसरी पूरा गर्दै आइरहेको छ ।
शहरको भोकलाई पूरा गर्न ५ जना पूर्णकालीन र ४ जना स्वतन्त्र रूपमा युवाहरू कार्यरत छन् । फोन गर्ने बित्तिकै घरमा हाजिर । धरानका इच्छाएका होटल तथा रेष्टुराँबाट भनेको परिकार घरमै हाजिर हुने भएपछि अहिले भोकलाग्यो डटकमले रफ्तार पक्डिन थालेको छ ।
‘धरानका दुई दर्जन खाना÷खाजा रेष्टुराँबाट सुविधा दिँदै आएका छौं’(सञ्चालकमध्येका एक नरेन कुलुङ भन्छन् । उनका अनुसार ग्राहकको रोजाइअनुसारका परिकारहरू होमडेलिभरी सुविधा दिँदै आएका छौं । ‘हाम्रो आफ्नै किचन छैन, धरानका होटल, रेष्टुराँसँग सम्पर्क गरेका छौं । त्यसबारे ग्राहकलाई जानकारी दिन्छौं । ग्राहकको रोजाइअनुसारको होटलबाट खाजा÷खाना पु¥याइदिन्छौं’,उनी भन्छन् ।
अहिले ५० वटा रेष्टुराँ तथा होटलसँग ‘टाइअप’ गरेको छ । र, ग्राहकहरूबाट प्रतिक्रिया पनि राम्रै पाइरहेको उनी बताउँछन् । तर, यस्तो पनि होला भन्ने चाहिँ उनले सायदै सोचेका थिए । शुरुवातको उद्देश्य फरक थियो । कुलुङ इनोभेसन प्रालि खुलेको थियो । जसले आइटी कम्पनीको काम गर्ने भनिएको थियो । करिब तीन वर्षअगाडि नै खुलेको थियो ।
व्यवसायलाई डेलिभरी पार्टनरको रूपमा सोच बनाएर एप बनाउन केही प्रपोजलसमेत दिएको उनी स्मरण गर्छन् । तर, सबैजसोले रिजेक्ट गरिदिन्थे । बरू डेलिभरीको कन्सेप्ट ल्याउन धेरैले आग्रह गरेपछि २०७५ माघ १ गते खुल्यो ‘भोकलाग्यो डटकम’ । शुरुवातमा २ जना आंशिक कर्मचारीसहित ५ जना रहेका थिए ।
सामान्य दैनिक ५० भन्दा माथि अर्डर हुने गरेको छ । चाडबाडमा भने ८० को हाराहारीमा पुग्छ । धरान बजार, रेल्बे, मङ्गलबारे, तीनकुने र बगरकोटसम्मबाट अर्डर आउने गरेको छ । भोकलाग्यो डटकमसँग टाइअप भएमध्ये अहिले गोर्खा किचन, ब्रिक क्याफे, धरान किचनको सामान धेरै बिक्री हुने गरेको यो एक वर्षको तथ्याङ्क छ ।
‘एक वर्ष पुग्दा ८ लाख रुपैयाँसम्म बिक्री गरिएछ’–उनले भने । प्रत्येक महिना ग्राहकको सङ्ख्या बढ्दो छ । शुरुवातमा दैनिक २० थियो । अहिले ५०–६० को हाराहारीमा अर्डर हुन्छ । ‘त्यति त रेगुलर कस्टमर नै छन्’ उनी भन्छन्, ‘डिमाण्ड राम्रै छ ।’
इनोभेसनको कार्य कम्प्युटर इञ्जिनियर सञ्जीव कुलुङले गरिरहेका छन् । अनलाइनमार्फत् नै अर्डर गर्न सक्ने सुविधा पनि प्रदान गरिरहेको छ । भोकलाग्यो डटकमको नामका बारेमा कुलुङ थप्छन्, ‘केही युनिक होस् न, ग्राहकले पनि सुन्नेबित्तिकै नबिर्सियोस् नै भनेर यो नाम राखिएको हो ।’ कतिपय भने होम डेलिभरी सर्भिसमा केही महँगो हुने भएकाले ‘सर्भिस लिउँ कि नलिउँ’ भन्नेहरू पनि भएको उनको अनुभव छ । तर, उनी भन्छन्, ‘महँगो पर्दैन ।
रेष्टुरेन्टको चार्जमै हामीले सप्लाइ गर्ने हो । विशेष गरी होटल तथा रेष्टुराँले नै अफर दिन्छन् ।’ अहिले होम डेलिभरी सेवाबाटै मासिक १ लाख देखि १ लाख ५० हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । त्यसैबाट कर्मचारीहरूलाई सेवासुविधा दिने गरिएको इनोभेसनका सञ्जीव कुलुङले बताए । ‘खर्च मेनटेन भइरहेको छ’ उनी भन्छन् । छोटो समयमै यो स्तरको उपलब्धीका बारेमा उनीहरूले सोचेका थिएनन् । तर, गर्दै जाँदा विश्वास बढ्यो । अहिले भोकलाग्यो डटकम धरानबासीको भोकलाई आंशिक रूपमा मेटाउँदै छ ।
