भद्रपुर/ झापाको भद्रपुर–३ को मेची नदीमा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुल नक्सामै सीमित बनेको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने मिति नाघेको तीन वर्ष बितिसके पनि पुल नक्सामै सीमित बनेको हो । पुल नबन्दा वर्षायामको समयमा शिक्षक(विद्यार्थी मात्रै हैन, त्यहाँका बासीले सास्ती खेप्दै आइरहेका छन् । गाउँलाई भद्रपुर शहरसित जोड्न भनेर पाँच वर्षअघि बनाउन थालेको झोलुङ्गे पुल अलपत्र छ । निर्वाचनका बेला स्थानीय तहदेखि, प्रदेश र सङ्घसम्मका उम्मेदवारले यही पुललाई निर्वाचनको नारा बनाएर गाउँलेबाट जनमत बटुलेका थिए ।
तर, समयमै पुल निर्माण सम्पन्न गरेर सहज जीवनशैली बनाइदिने आश्वासन दिने जनप्रतिनिधिको निर्वाचन सम्पन्न भएर सरकार गठन भई काम थालेको तीन आर्थिक वर्ष पूरा भए पनि पुलको प्रगति बुझ्न सरकारका प्रतिनिधि आइ नपुगेको स्थानीयले नाम नराखिदिनु भन्दै गुनासो पोखे । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासी त्रसित बनेर बाँच्नु बाहेक विकल्प नभएको उनको भनाइ छ । भारतले आफ्नो क्षेत्रतिर यही वर्ष पक्की तटबन्ध बनाएपछि बस्ती पूर्वपट्टि बग्ने मेची नदीले पनि अब नेपालतिरै कटान गर्ने अनुमान लगाएका छन् ।
यसले टापुका बासिन्दालाई अर्को सङ्कट थपेको छ । हिउँदमा त खोला तर्न समस्या छैन तर वर्षातमा वषौंदेखि एउटै त्रास खोला तरेर सदरमुकाम कसरी जाने ? मुलुकमा स्थायी सरकार आएसँगै जनप्रतिनिधिले जिम्मेबारी सम्हालेको तीन वर्ष बित्न लागेको छ । तर, विकटमा पिल्सिएका नागरिकको पीडामाथि सम्बोधन हुन सकिरहेको छैन । भौगोलिक रूपमा सदरमुकामसँग जोडिन नसकेको मेचीपारिको सो गाउँलाई विशेष प्राथमिकतामा राखिनुपर्ने स्थानीयको माग छ ।
गाउँमा कक्षा १० उत्तीर्ण गर्ने नागरिकको सङ्ख्या ५ पनि कट्न सकेको छैन । हिउँदमा नेपाली भूमि आवत जावतमा सहजता भए पनि वर्षादमा सदरमुकाम आउन भारतीय भूमिको साहरा नलिईकन उपाय छैन । कृषिमा आश्रित आदिवासी समुदायका ५ सय परिवार वसोबास गर्ने यस गाउँमा नेपाल सरकारको अनुभूति कम हुने गरेको पाइएको छ ।
तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का लगाएको थियो । भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निलगिरी निर्माण सेवा प्रा.लि. बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो । २ सय ८० मिटर लम्बाइ र १३ मिटर चौडाइसहितको झोलुङ्गे पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए । २०७६ साउनसम्म आइपुग्दा ८० प्रतिशत बजेट लगिसकेको कम्पनीको काम भने अन्दाजी ६० प्रतिशत सम्पन्न गरेको छ ।
ठेकेदारले वर्षमा २–४ दिन आएर २–३ जनाले काम गरेजस्तो गराउने अनि वार्षिक विनियोजित रकम लिएर हिउँदमा हराउने गरेको स्थानीय बताउँछन् । गाउँका बासिन्दा हिउँदमा हिँडेर या साइकलमा सदरमुकाम जाने आउने गर्छन् । वडा कार्यालय आउन समेत नदी पार गर्नुपर्ने हुन्छ । आफ्ना बारीमा उत्पादन गरेका साग सब्जी बेचेर होस् या जनमन गरेर हिउँदभर नेपालतिरै परनिर्भर रहने यहाँका बासिन्दाको वर्षायामको समयमा भोक भोकै बस्नु परेको मेची आधारभूत विद्यालयका शिक्षक कैलाश राईले बताए ।
समयमा पुल नबनाएका कारण विकट समस्या उत्पन्न भइरहेको वडा नम्बर ३ की अध्यक्ष कमला थुलुङ्ले बताइन् । विषेश गरी विद्यार्थीलाई आवत जावतमा अतिनै गाह्रो भएको उनको भनाइ छ । पटक पटक ठेकेदारलाई भने पनि हुन्छ मात्र भन्ने गरेको तर पुल सम्पन्न नभएका कारण डुङ्गाको सहारा लिनु परेको उनले बताइन् । केहीदिन यता थोरै कामदार लगाएर काम गरिरहे पनि यो वर्षायाममा काम सकिने अवस्था नरहेको उनले सुनाइन् ।
पुलको दायाँ बायाँ जाली नलगाएका कारण मानवीय क्षति हुने भएकाले तत्काल जाली लगाउन ठेकेदारलाइ जानकारी गराए पनि अटेर गरेको उनको भनाइ छ । ठेकेदारले पुललाई अलपत्र पारेर छाडेको उनले जनाइन् । विभागले पुलको डिजाइन पुनः परिवर्तन गरेका कारण ढिलाइ भएको ठेकेदार निलम डाँगीले बताए । अबको दुई हप्ता भित्र निर्माण सम्पन्न भई पुल सञ्चालन हुने उनले दाबी गरे ।
