धरान । धरान–४ पत्रङबारी सामुदायिक वन क्षेत्रमा अवैध रूपमा सखुवा प्रजातिको रूख चोरीतस्करी गर्नेविरुद्ध मुद्दाको प्रक्रिया अगाडि बढेको छ ।

बुधबार चोरीतस्करी गर्दै गरेको समयमा धरान–४ का कुमार राईको मृत्यु भएपछि घटना बाहिरिएको थियो । पत्रङबारी सामुदायिक वन क्षेत्रमा प्रवेश गरेर सखुवा जातको रूख कटान गरेका थिए । उक्त मुद्दा हाल इलाका प्रहरी कार्यालयले हेरिरहेको छ । घटनामा एक व्यक्तिको ज्यान गए पछि इप्रका धरानले उक्त घटनामा संलग्न अन्य चार जनालाई बोलाएर सोधपुछ गरेको थियो । र, जुनसुकै बेला पनि उपस्थित हुने गरी वडा सदस्यको रहोबरमा छाडिएको छ ।

यता धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालय मातहतको पाँचकन्या सव डिभिजन वन कार्यालयले रूख कटान भएको क्षेत्रको मुचुल्का गरेर अनुसन्धान अगाडि बढाएको हो । उक्त घटनाको अनुसन्धान गर्नका लागि पाँचकन्या सव डिभिजन वन कार्यालयका निमित्त प्रमुख रेञ्जर ईश्वरी बाँस्तोलालाई जिल्ला वन कार्यालयले अनुसन्धान अधिकृतको रूपमा जिम्मा दिएको छ ।

‘पत्रङबारीको घटनाको विषयमा जिल्लामा जाहेर गरिसकियोँ, जिल्लाले मलाई नै अनुसन्धान अधिकृतको जिम्मा दिनुभएको छ’ रेञ्जर बाँस्तोलाले फोन सम्पर्कमा भने, ‘प्रहरीको मुद्दा सकिएपछि हामी प्रक्रिया अगाडि बढाउँछौं ।’ उनका अनुसार घटना भएको क्षेत्रमा बिहीबार नै पुगेर काठको नापचाँज साथै मुचुल्का बनाएर ल्याइसकेका छौं । उनले भने, ‘प्रहरीलाई पत्राचार गर्ने काम हुन्छ, उताको मुद्दा सकिने बित्तिकै वन मुद्दा अगाडि बढ्छ ।’

चोरीतस्करीमा स्थानीय युवाहरू नै सक्रिय रहेका थिए । करिब २ फिट गोलाइको सखुवा प्रजातिको रूख कटान गरेका थिए । कटान गरिसकेपछि तान्ने क्रममा कुमार राईलाई टाउँकोमा चोट लागेको थियो । चोटका कारण गम्भीर घाइते भएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए पनि तत्कालै विराटनगरस्थित विराट नर्सिङ होममा लगिएको थियो । बिहीबार बिहानको राति करिब ३ बजेतिर उनको निधन भएको पुष्टि प्रहरीले गरिसकेको छ ।

https://www.blastkhabar.com/news/2020/05/02/113487.html

https://www.blastkhabar.com/news/2020/04/30/113446.html