धरान । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले धरानको कृषि उपज बजार स्थललाई ‘ल्याब र कोल्ड चेम्बर’ का लागि पहल गर्ने आश्वासन दिएका छन् ।

धरान–१३ स्थित कृषि बजारको निरीक्षणपश्चातको कार्यक्रममा राज्यमन्त्री मगरले मंगलबार प्रदेश सरकारले यहाँको कृषि बजारलाई थप व्यवस्थित बनाउनका लागि ल्याब र कोल्ड चेम्बरका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन् । उनले जनता स्वास्थ्यप्रति सचेत हुँदै गएकाले कारोबार र बजार व्यवस्थापनलाई निकै ध्यान पु¥याउनु पर्ने आजको आवश्यकता भएको बताए । ‘उत्पादन क्षेत्रबाटै स्वस्थ्यकर बनाउनुपर्छ, स्वस्थ्यकर खानेकुरा खाँदैछौं भन्ने निश्चित हुनुपर्छ’–उनले भने, ‘ल्याब बनाउने र कोल्ड चेम्बरको विषयमा प्रदेश सरकारले सोच्नेछ ।’ तर, ल्याबका विषयमा भने कृषि उपज बजारले ‘पाइपलाइन’ मा राखेको छ ।

उनले धरानले आफ्नो ब्राण्ड बनाउन पनि जरुरी रहेको बताए । उनले अब व्यक्तिव्यक्तिभन्दा पनि समूह र सहकारितामार्फत् अगाडि बढ्न सके बजार व्यवस्थापन चुस्त बनाउन सकिने बताए । ‘व्यक्तिव्यक्तिभन्दा पनि समूह र सामुहिकतातर्फ बढी ध्यान दिनुपर्छ’ उनले भने, ‘सामूहिक बजारीकरण विधि भनेको सहकारीमार्फत हुनसक्छ । समूहगत कार्यमात्रै सजिलो हुन्छ ।’ उनले सहकारीमार्फत् कारोबार गर्न सकेमा बजार विस्तार गर्न र व्यवस्थित गर्न सहज हुने बताए ।

धरानको कृषि उपज बजारको अवस्थाको बारेमा जानकारी लिइसके पछि उनले सब्जी, जडिबुटी, मसलाजन्य र मासुजन्यलाई फरकफरक गरेर व्यापार गरेमा थप लाभदायक हुने बताए । उनले धरानको बजारलाई अग्र्यानिक बजार बनाउन सके र त्यहीअनुसारको उत्पादनमा ध्यान दिन आग्रह गरे । उनले सामाजिक दूरी कायम राखेर सुरक्षा अपनाएर लकडाउनका बेला व्यापार गर्नका लागि आग्रह गरे ।