• भूमिराज पराजुली

दमक/ दमक नगरपालिकाको सातौं नगरसभाबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

चालू आर्थिक वर्षको अन्त्यमा कोरोना भाइरस कोभिड–१९ सँग जुधिरहेको नगरले आगामी आर्थिक वर्षमा कोरोनाले पारेको असरमा केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रोजगार केन्द्रित र व्यवसायीमुखीसँगै भौतिक पूर्वाधारमा नयाँ योजनाभन्दा पनि पूर्ववत् सञ्चालित योजनालाई निरन्तरता दिइनेखालका कार्यक्रमहरू सार्वजनिक भएका छन् । सोमबार दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले नगरको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम नगरसभा समक्ष प्रस्तुत गरिन् । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न सातौं नगरसभामा उपप्रमुख अधिकारीले कार्यक्रम प्रस्तुत गरेकी हुन् । सार्वजनिक भएको नीति तथा कार्यक्रममा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित भएर काम गर्ने खालका योजनाहरू सार्वजनिक भएका छन् ।

नगरले कोभिड–१९ सँग लड्न स्थापना गरेको कोषमा रकम बढाउँदै क्वारेण्टिन, आइसोलेसन निर्माणको कामलाई अझ व्यवस्थित बनाउँदै लैजाने भनिएको छ । साथै यसको नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्ने उपप्रमुख अधिकारीले कार्यक्रम सार्वजनिक गरिन् । त्यसैगरी कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेको र विदेशबाट समेत रोजगारी गुमाएर आएकाहरूलाई लक्षित गरेर समेत नीति तथा कार्यक्रम बनेका छन् । ‘खनौं आफ्नै माटो छोडौं विदेशको बाटो’ अभियान अन्तर्गत वैदेशिक रोजगारबाट फर्केका र वैदेशिक रोजगारमा जान बाध्य भएकाहरूलाई आकर्षित गर्न व्यावसायिक खेतीका लागि प्रोत्साहनस्वरूप नगरपालिकाबाट जमिन र अन्य पूर्वाधारको व्यवस्था गरी सामूहिक खेतीका लागि सामूहिक खेती प्रणालीमा आबद्ध गरिने नीति लिएको छ ।

त्यसैगरी ‘नजाआंै विदेशमा सम्भव छ, आफ्नै ठाउँमा’ अभियान अन्तर्गत नगरमा सञ्चालित योजनाहरूमा समेत रोजगार सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम बनेको छ ।कोभिड–१९ का कारण थलिएका व्यवसायीका लागि पनि राहत हुने गरी नीति तथा कार्यक्रम आएको छ । दमकमा लकडाउनको समयमा सधँै खुलेका पसलहरू, खाद्यान्न, औषधि, तरकारी, दूधलगायतका अति आवश्यकीय वस्तुको बिक्री विरतण गर्ने व्यवसायीका लागि व्यवसाय करमा १० प्रतिशत र अन्य व्यवसायीको हकमा २५ प्रतिशत कर छुट गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै सञ्चार क्षेत्रलाई पनि उल्लेख्य मात्रामा नीति तथा कार्यक्रमले समेटेको छ । जसअनुरूप दमकबाट प्रसारण हुने टेलिभिजनलाई मासिक २५ हजार, दैनिक पत्रिकालाई १५ हजार, साप्ताहिक पत्रिकालाई ५ हजार, रेडियोलाई ६ हजार र अनलाइनलाई ४ हजार रुपैयाँ दिइने बजेटमा व्यवस्था गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उपप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न खोजेको देखिए पनि यसको कार्यान्वयनमा चुनौती रहेको नेपाली काङ्ग्रेस क्षेत्र नं. ५ का महाधिवेशन प्रतिनिधि शेरबहादुर भट्टराईले बताए । ‘कार्यक्रमअनुसारको बजेट बन्नुप¥यो, अनि विनियोजित बजेटको स्रोत सुनिश्चित गरी कार्यान्वयन हुने हो भने यो कार्यक्रमले सबै क्षेत्रलाई समेटेको छ’ भट्टराईले ब्लाष्टसँगको कुराकानीमा भने ।

राप्रपा नेपाल दमकका अध्यक्ष तथा वडा नं. ७ का वडाध्यक्ष भीम पौडेलले सरसल्लाहकै माध्यमबाट नीति तथा कार्यक्रम बनेकोले यसले कोरोना रोकथाममा समेत मद्दत पु्ग्ने विश्वास व्यक्त गरे । यो पटकको नीति तथा कार्यक्रममा नगर सभासद्, नगरका राजनैतिक दल तथा अन्य सङ्घ– संस्थाबाट आएका सुझावलाई समेत समेटिएको हुँदा नीति तथा कार्यक्रम सकारात्मक रहेको पौडेलको प्रतिक्रिया छ । दमकमा रहेका व्यवसायीलाई समेत नीति तथा कार्यक्रमले सम्बोधन गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले बताए । व्यवसायीका कर छुट, घर बहाल करसम्बन्धी समेटिएका कुराहरू वाणिज्य सङ्घले माग गरेबमोजिम नै सम्बोधन भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । नगरपालिकाको घरमा व्यवसाय गरेकालाई तीन महिनाको घरभाडा छुट, घर बहालमा छुट, व्यावसायिक करमा छुट, नयाँ व्यवसाय दर्ता गर्नमा छुटलगायतका कुराहरूले नीति तथा कार्यक्रमले व्यवसायीलाई पनि समेटेको उनको भनाइ छ ।