विराटनगर/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेश १ को प्रदेशसभाको सोमबारको बैठक स्थगित भएको छ ।
नेपाली काङ्ग्रेसले काठमाडौंबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको रोकप्रति विरोध जनाउँदै प्रदेशसभाको बैठक अवरुद्ध गरेका हुन् । प्रदेशसभा बैठक शुरू हुनसाथ प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सांसद्हरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।
सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले आफ्नै मुलुकका नागरिकलाई नाकाबाट फर्काएर काठमाडौंले ज्यादती गर्दा पनि प्रदेश सरकार रमिते बनेको आरोप लगाए । ‘काठमाडौं मुटु भनेर मान्यौं, राजधानी भन्यौं तर काठमाडौंबाट जो पनि सिडिओको पासमा आउन सक्छ । तर, काठमाडौं जान के–को रोक’ उनको प्रश्न थियो, ‘अब काठमाडौंलाई नाकाबन्दी गर्ने अभियान छ । किन प्रदेश सरकार बोल्न सक्दैन ?’
प्रदेश सरकारका सचिवले सिडिओको पास लिएर काठमाडौं जानुपर्ने अवस्थाले सङ्घीयताको खिल्ली उडाएको काङ्ग्रेसको भनाइ छ । सचेतक कार्कीले प्रदेश १ सरकारले पिसिआर टेष्टमा भएको खर्च सदनमा जानकारी गराउनुपर्ने मागसमेत गरे । मुख्यमन्त्री शेरधन राईले कोरोनासँग लड्दैछौं भनेर भिडिओमा मात्र भन्ने गरेको भन्दै उनले सदनमा आएर हिसाब सार्वजनिक नगरेसम्म संसद् चल्न नदिने बताए ।
प्रदेशको नाम नआएको, मजदुरको पीडा नबुझेको र प्रदेशसभाको शून्य समय र विशेष समयमा उठाइएका विषयमा जवाफ नदिएको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ । प्रमुख सचेतक कार्कीले बोलिसकेपछि पुनः काङ्ग्रेसका सांसद्हरू उठेर अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले १० मिनेटको लागि बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको दोस्रो बैठकमा पनि काङ्ग्रेसका सांसद्हरू उठेर विरोध जनाएपछि सभामुख भण्डारीले मङ्गलबार १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।