विराटनगर/ प्रहरी सङ्गठनको आचरण र नीति विपरीत काम गरेको पाइएपछि मोरङका विभिन्न मातहतमा रहेर काम गर्दै आएका ११ प्रहरी कारबाहीको लागि तानिएका छन् ।

मोरङको सीमा क्षेत्रमा खटिएका प्रहरीले सङ्गठनको आचरण विपरीत काम गरेको पाइएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान शुरू गरिएको हो ।

७ जनालाई प्रदेश प्रहरी कार्यालय र ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा झिकाएर अनुसन्धान शुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अनुसन्धानको दायरामा जुनियर प्रहरीदेखि जवानसम्मका प्रहरी छन् । जसमध्ये एक जना मोरङ प्रहरीका सादा पोसाकका प्रहरी पनि रहेको बुझिएको छ ।