- खेवाहाङ मेवाहाङ
सङ्खुवासभा/ पानी परिरहेको मध्यरातको समय थियो । यता–उताबाट डरलाग्दो गरी हावा चल्यो । घर उडाउला झैं गरिरहेको हावासँगै एकैछिनमा पहिरोको आवाज आउन थाल्यो । मोबाइल बोकेर भाग्दाभाग्दै उनको घर डिलमुनि पु¥यायो र उनको आधा ज्यान हिलोमा गाडिएको अवस्थामा थियो ।
यो पनि उनी बेहोसीपछि होसमा आउँदा थाहा पाए । यो कथा कुनै दन्त्य कथा होइन । यो त सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोला बेसिन्दाको पहिरोबाट बच्न सफल भीमबहादुर कुलुङको सत्य कथा हो । गत असार २७ गते राति गएको पहिरोबाट मुस्किलले बचेका उनी संयोगले ज्यान जान वा रहन सक्दोरहेछ भन्ने लाग्न थालेको बताउँछन् ।
उनी घरको पछाडिपट्टिको कोठामा सुतिरहेका थिए । हावा धेरै आएपछि ढोका खोलेर हेर्न खोज्दा माथिबाट ढुङ्गाहरु झरेको थाहा पाएपछि उनले भाग्ने प्रयास गरे । तर उनलाई ढोका नखुलेकोले भाग्नै समस्या भयो । घरभित्र ठाउँ हुँदाहुँदै पनि उनी बेहोस भए तर कसरी बाँचे त्यो थाहा भएन । उनीलाई लेदोले पुरेको थियो । त्यसपछि अर्को छेउबाट दोस्रो पटक पहिरो आवाज सहित खस्दा उनी ब्युँझिए । त्यसबेला उनलाई आफू पक्का मर्ने भन्ने लागेको थियो ।
जति गुहार गर्दा पनि आवाज निस्कन सकेन, पानी परिहेको थियो । धेरै समयको प्रयासपछि ‘गुहार’ भन्ने शब्द आयो उनको । त्यसपछि लाइटको झिल्को आयो । अझै उनी कराए तर पनि कोही आएन । आफू भएको ठाउँको दुवैतिरबाट पहिरो बगिरहेको र अविरल पानी परिरहेको कारणले कोही आउन सकेनन् तर अन्ततोगत्वा उनलाई त्यहाँका स्थानीयले बचाए ।
उनी र उनको परिवार चुलाचुली भन्ने ठाउँमा बसोबास गर्छन् । खेतीपाती गर्न उनी एक्लै गाउँ आएका थिए । उनी त बाँचे तर उनको खेतबारी र घर बाँचेन । उनको ज्यान बाँच्नु नै ठूलो कुरा हो । उनी अहिले अरूलाई आश्वासन दिन्छन्, अनि विस्थापितहरूको व्यवस्थापनमा जुटेका छन् । सामान्य उपचारपश्चात् उनी अहिले एकदमै तन्दुरुस्त रहेका छन् ।
ढुङ्गाको आडमा बचेको तीन ज्यान
भीषण वर्षासँगै आएको पहिरोले ९ घर अनि ११ जना बगायो । जम्मा ४ जना घटनास्थलबाट भाग्यले बाँचेका छन् । सिलिचोङ गाउँपालिका वडा नं. बेसिन्दाका ७९ वर्षीय गोवासिंह कुलुङ, उनकी श्रीमती र छोरीसहित पहिरोसँगै अँध्यारोबाट जसोतसो बाहिर निस्किए । तर उनीहरू निस्किसक्दा पहिरोले घर पल्टाइसकेको थियो ।
आमाछोरीलाई खासै केहिले छोएन तर ६९ वर्षीय गोवासिंलाई आफ्नै घरका काठ, बाँस, भाटाहरूले थिचे । थिचेपछि उनलाई श्रीमती र छोरीले भाटाहरू पञ्छाएर निकाले । पञ्छाउँदा उनको अनुहारमा भाटाले घाउ बनाइदिएछ । जसोतसो उनीहरू त्यहाँबाट भाग्न त सफल भए तर कता भाग्ने ? त्यहीँ नजिकै रहेको ढुङ्गामा आड लिएर उनीहरूले रात बिताए । दुवै हात ढुङ्गा, माटोले पुरेर अनि भाटाले घाउ बनाइदिएकोले उनको अहिले उपचार भइरहेको छ । नेपाली काङ्ग्रेसका नेताद्वय दीपक खड्का र मिङ्मा शेर्पाको टोलीले आफ्नै निजी खर्चमा खाँदबारीबाट केही खाद्यान्न लगेर विस्थापित ८६ घरलाई दिएका छन् ।
गोवासिंहका अनुसार गाउँलेहरूले उनीहरूको उद्धार गरे । उनका दुवै हातमा चोट लागेको छ, टाउकोमा ढुङ्गाले गहिरो गरी काटेको छ । ज्यान बचेको खुसीमा गोवासिंहलाई चोटसँग उति गुनासो छैन । उनीहरूले पहिरोको बीचमा भगवानको नाम जप्दै पहिरोको आवाज सुन्दै, पानीमा रुझेर नै रात काटे । बेसिन्दा बगरस्थित अलैंचीबारी गएका उत्तरकुमार राई पनि गड्याङगुडुुङ गर्दै पहिरो झरेपछि गोठबाट भागे । लगत्तै पहिरो खसेर उनको गोठ र अलैंची बगान बगायो । उनी म्याराथुन धावक भएकै कारण पनि छिट्टै भाग्न सफल भएका हुन् ।