संखुवासभा । त्रिदेशीय लिंकरोडको रुपमा हेरिएको राष्ट्रिय गौरवको आयोजना जोगवनी—किमाथांका राजमार्ग अन्तर्गत पर्ने संखुवासभाको सदरमुकाम खाँदबारी देखी उत्तरीक्षेत्र पांमा, सेकाहा हुर्दै चिचिला सम्म जोडिने सडकखण्डमा यातायातका साधान आवतजावत गर्न समस्या भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सडकमा सवारी साधन पसिएर समस्या हुन थालेको हो ।
लगातार रुपमा बर्खाको पानी र दैनिक रुपमा सयौ यातायातका साधानहरु ओहोरदोहोर गर्दा हिलाम्मे सडकको कारण यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । सदरमुकाम खाँदबारी देखी उत्तरी क्षेत्र लागेपछि खाँदबारी नगरपालिका वडा नं. ४ को पांमा, अरुणथान र सेकाहा क्षेत्रमा करिब ८ किमि जति सडकखण्डमा आवातजावात गर्न नै मुस्किल भएको छ । उक्त क्षेत्रको पांमाको भगिवन्त रंगशाला छेउ र अरुणथान छेउको सडकखण्डमा बर्खाको पानी र भलबाढीले खेतबारीमा समेत ठूलो क्षति पुर्याएको छ ।
स्थानीय शेरबहादुर राईको रोप्ने बेलाको खेतमा भलबाढीले ठूलो नोक्सानी पुर्याएको भन्दै ४ नम्बर वडा कार्यालय र खाँदबारी नगरपालिकामा निवेदन समेत गरेका छन् । त्यसैगरि सेकाहामा रविन गुरुङको खेत पनि भलबाढीले क्षति पुर्याएको स्थानीय रविन गुरुङले बताए ।
उनले तत्काल सडकको समस्या हेरेर सरोकारवाला निकायले मर्मत संम्भार गर्नु पर्ने बताए । उनी मात्रै होइन सेकाहा कै मनोज गुरुङले बर्खाको समयमा कोशी ल्हासा राजमार्गको सेकाहा आसपासका क्षेत्रमा ट्याक्टर, ठूला–ठूला ढुवानी ट्रकले सडक खोलेर स्थानीयहरुलाई समेत आवातजावात गर्न मुस्किल भएको बताए । उनले बेहालत अवस्थामा रहेको यो सडकको तत्काल मर्मत गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग समेत गरे ।