धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालमै जन्मिएको भन्ने अभिव्यक्तिपछि भारतको बनारसमा बलपूर्वक केस मुण्डन गरिदिँदै नाराबाजी गरिएको भिडियोमा जोडिएका व्यक्ति नेपाली नभई भारतीय नै रहेको पुष्टि भएको छ ।

ती व्यक्तिले पैसा लिएर अभिनय गरेको भारतीय प्रहरीले सामाजिक सञ्जाल ट्वीटमार्फत् जानकारी गराएको छ तर, नाम भने सार्वजनिक गरिएको छैन । घटनामा संलग्न ६ जनालाई पक्राउ गरेपछि उनीहरूको बयानको आधारमा एक हजार रुपैयाँ लिएर बलपूर्वक केस मुण्डन गराउँदै प्रधानमन्त्री ओली र नेपालविरुद्ध नाराबाजी गरेको भिडियो फुटेज बाहिर आएको थियो । मुण्डन गरिएका व्यक्तिको टाउकोमा ‘श्री राम’ लेखिएको छ । उनी नेपाली भएको भन्दै प्रचार गरिएको थियो ।

उक्त भिडियो नेपालमा पनि भाइरल बनेको थियो । बनारसमा बस्ने नेपाली युवामाथि बलपूर्वक केस मुण्डन गरेर ज्यादती गरेको भन्दै अफवाह फैलाइएको थियो । जसका कारण भारतको बनारसमा रहेका नेपालीहरू असुरक्षित बन्ने खतरा बढेको थियो । यस विषयमा नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन संवाद गरेका थिए ।

विश्व हिन्दू सङ्गठनका कार्यकर्ताहरूले उक्त भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । प्रधानमन्त्री ओलीले केही दिनअघि भगवान् राम नेपालको नवलपरासी ठोरीस्थित अयोध्यापुरीमा जन्मिएको भन्ने आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालहरूमा तीव्र आलोचना भइरहेको छ । तर, केही विद्वानहरूले प्रधानमन्त्री ओलीको भनाइमा केही सत्यता रहेको दाबी गरेका छन् । यस विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले बताए ।

‘गलत होइन, नेपालमा अध्ययन अनुसन्धान गरेको छैन, राजनीति बढी भयो, एकेडेमिक कुरा कम भयो’ उनले भने, ‘अयोध्यापुरीबाट जनकपुर एकैदिनमा गएको प्रसङ्ग छ, लक्ष्मणले पनि सीतालाई जनकपुरमा छाडेर एकै दिनमा अयोध्या फर्किएको प्रसङ्ग छ । उत्तर प्रदेशबाट एकै दिनमा जनकपुर आउन सम्भव छैन, त्यसकारण भनाइमा केही सत्यता छ ।’ उनले नेपालले अनुसन्धान नगरेका कारणले मात्रै सत्य कुरा बाहिर आउन नसकेको बताए । ‘मलाई चाहिँ यसमा विश्वास छ’–उनले भने ।

भारतमा ओलीविरुद्ध चर्को नाराबाजी हुँदै आएको छ । नेपालको जनकपुर क्षेत्रमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको छ । भारतीय प्रहरीले शुरुमा चार जनालाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको थियो । निकै भाइरल भएको फुटेजमा पीडित भनिएका ती व्यक्तिले प्रहरीमा भने उजुरी गरेका थिएनन् । सामाजिक सञ्जालमा भाइरल बनेपछि भारत उत्तर प्रदेशस्थित वाराणसी प्रहरीका एसपी अमित पाठकले कारबाही अगाडि बढाएका थिए ।

घटनामा संलग्न मुख्य आरोपी अरुण पाठक भने हाल फरार रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । वाराणासी प्रहरीले हालसम्म ६ जना आरोपितहरू पक्राउ भइसकेको जनाएको छ र केस मुण्डन गरिएका व्यक्ति वाराणासी भेलुपुरको रहेको बताइन्छ । उनी भारतीय नागरिक नै रहेको र उनको परिवार सरकारी सेवामा कार्यरत रहेको वाराणासी प्रहरीले ट्वीटरमा उल्लेख गरेको छ ।

घटना घटाउनका लागि केही रकम लिएर काम गरेको पक्राउ परेका आरोपितमध्येका एक व्यक्तिले प्रहरीमा बयान दिएका छन् । ती व्यक्तिले कपाल खुइल्याउन र नेपालका प्रधानमन्त्रीविरुद्ध नारबाजी गर्न १५ सय रुपैयाँ लिएको दाबी गरेका थिए । पक्राउ परेकाहरूले अपराध स्वीकार गरिसकेका छन् । घटनाका मुख्य आरोपित भनिएका अरुण पाठकलाई प्रहरीले खोजिरहेको उल्लेख गरेको छ ।