धरान/ धरानको गल्फ कोर्ष सुधारका लागि धरान उपमहानगरपालिकाले धरान गल्फ क्लबलाई ट्याक्टर प्रदान गरेको छ ।

कोर्षको मर्मत सम्भारका लागि शनिबार नगर प्रमुख तिलक राईले क्लबलाई ट्याक्टर प्रदान गरेका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको गल्फ कोर्ष यसअघि निर्वाणा कण्ट्री क्लबले सञ्चालन गर्दै आएको थियो । क्लबले छाडेपछि धरान गल्फ क्लबले व्यवस्थित गर्न थालेको हो तर कोरोना भाइरसका कारण लकडाउन भएपछि खेल गतिविधि शून्य भएका कारण घाँस बढेको छ ।

घाँसलाई व्यवस्थित गर्नका लागि कटिङ गर्न सहयोग पुर्याउनका लागि ट्याक्टर वितरण गरिएको नगर प्रमुख राईले बताए । नगर प्रमुख राईले क्लबका अध्यक्ष टीका लिम्बूलाई ट्याक्टरको चाबी हस्तान्तरण गरे । नगरले ५ लाख रुपैयाँ ट्याक्टरको लागि सहयोग गरेको छ । त्यस्तै क्लब आफैले नगद ४ लाख ९५ हजार रुपैयाँ जुटाएर ९ लाख ९५ हजार रुपैयाँमा ट्याक्टर खरिद गरिएको क्लबका सचिव जितेन राईले बताए तर बजारमा ट्याक्टरको मूल्य करिब साढे १२ लाख रुपैयाँ पर्न आउँछ ।

धरान उपमहानगरले कविर इण्टरप्राइजेजलाई विशेष आग्रह गरेका कारणले केही सस्तो मूल्यमा बिक्री गरेको हो । नगर प्रमुख राईले बहुउद्देश्यीय प्रयोजनका लागि ट्याक्टर प्रदान गरेको बताए । कार्यक्रममा धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बू, धरान–१८ का वडाध्यक्ष प्रवीण राई, सुनसरी टेक्निकल कलेजका प्रमुख लेखीराज सुब्बालगायतको सहभागितामा ट्याक्टर हस्तान्तरण गरिएको हो ।