भद्रपुर/भारतीय तस्कर समूहले झापाका सीमामा तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा परी सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन् ।
तस्कर समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरीले आफ्नो सुरक्षाका लागि प्रतिकारमा चार राउण्ड हवाई फायर गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
गौरीगञ्ज गाउँपालिका–५ स्थित डाँगीटोलामा शनिबार राति साढे ११ बजेको समयमा सीमा गस्तीमा खटिएका सशस्त्र टोलीमाथि ४० देखि ५० जनाको सङ्ख्यामा आएको भारतीय तस्कर समूहले आक्रमण गरेको थियो । भारतीय तस्कर समूहले सरसामान तस्करीको माध्यमबाट नेपाल छिराउन नसकेको निहुँमा उनीहरूले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई निशाना बनाएको प्रत्यक्षदर्शीको भनाइ छ ।
सीमा पिलर नम्बर १५२ देखि करिब तीन सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि तस्कर समूहले आक्रमण गर्दा सशस्त्र प्रहरी जवान रोमन बस्नेत र विदुर खत्री घाइते भएका हुन् । उनीहरूको टाउको र हातमा चोट लागेको बताइएको छ ।
घरेलु हातहतियारसहित आएका भारतीय तस्करहरूले त्यहाँ स्थापना गरिएको अस्थायी पोष्टमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक साइमन श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरीले हवाई फायर गरेपछि उनीहरू भारततर्फ भागेका थिए । यता घटनापछि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेसमकुमार थक्सू आइतबार बिहान घटनास्थल पुगेका थिए ।
सशस्त्रका एसपी थक्सूले भारतीय एसएसबीसँग घटनाको विषयमा छलफल गरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीका कारण भारतीयहरूले सरसामान नेपाल ल्याउन नपाएको र नेपाली जमिनमा पनि जोतभोग गर्न नपाएपछि उनीहरूले पटक–पटक सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै आइरहेका छन् ।
यसअघि पनि भारतीय पक्षले कचनकवल गाउँपालिका–१ केराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोष्टमा आक्रमण गरेका थिए । भारतीयको आक्रमणबाट पोष्टमा क्षति पुगेको थियो भने सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । त्यस्तै सोही गाउँपालिका–१ घेराबारीस्थित १२५–१० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोष्ट र घेराबारीको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरिसकेका छन् ।
त्यसैगरी झापा गाउँपालिका –४ स्थित सुकुम्बासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमणको प्रयास गरेका थिए ।