सङ्खुवासभा/ सङ्खुवासभाका ४ वटा हिमताल खतरामा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । उसले चीनको स्वशासित क्षेत्र तिब्बतका १७ वटा हिमताल पनि खतरामा रहेको आंैल्याएको छ ।

इसिमोडका अनुसार सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिका रहेको लोवर बरुण हिमतालसहित चार वटा हिमताल जोखिममा रहेका छन् । हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै साङ्ग्रिला आमसञ्चार प्रतिष्ठानले खाँदबारीमा आयोजित कार्यक्रममा इसिमोडका डा. अरुणबहादुर श्रेष्ठले हिमतालको खतराबारे सङ्केत गरे । उनले तिब्बतका ताल फुटे नेपालमा ठूलो जनधनको क्षति हुनेतर्फ पनि सङ्केत गरे । उनले स्थानीयबासीलाई सचेत रहन आग्रह गरे ।

सङ्खुवासभाका १ सय ४ वटा हिमतालमध्ये ४ वटा हिमताल उच्च जोखिम रहेको उनले बताए । नेपालमा पाँच हजार ३ सय ५३ हिमतालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको बताए । उनले हिमालमा नयाँ ताल बन्ने र विलीन हुने प्रक्रियाका कारण तल्लो बस्ती उच्च जोखिममा रहेको बताए । जलवायु परिवर्तनका कारण हिमाल र तालको संरक्षण चुनौतीपूर्ण देखिएकाले समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उनले औंल्याए ।

लोवर बरुण हिमताल १.९ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ भने हिमतालको लम्बाइ २.७ किलोमिटर चौडाइ ६ सय मिटर रहेको छ । तत्काल बरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर बरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएकाले सबैले पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरणका लागि पहल कदमी चाल्न जिल्ला समन्वय समिति सधैँ अग्रपङ्क्तिमा रहने समेत प्रतिबद्ध रहेको प्रमुख शाक्यले बताए ।

सचेत हुन आग्रह
यो समय हिमताल खतरा हुने भएकाले सचेत रहन विज्ञहरूले सुझाव दिएका छन् । हिउँ पग्लेर तालको पानी अधिकतम् तहमा पुग्ने महिना जुलाई–अगष्ट भएको र ताल फुट्ने जोखिम यतिबेला नै बढी हुने गरेको विज्ञहरूको सुझाव छ ।

नेपालमा हिमताल विष्फोटपछि आएको बाढीले क्षति पुर्याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्याङ्क रहेको छ । अरुण तथा बरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ । हिमताल विष्फोट भए सङ्खुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन आग्रह गरिएको हो ।

नेपालका जोखिमयुक्त २० हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ हुने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको सरोकारवालाहरूको गुनासो छ । सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिने तर्क गर्दै आएका छन् ।