धरान/ धरान–१५ स्थित सुसनरोड कालोपत्रे सडक उद्घाटन भएको छ । धरान १५ नं. वडाका वडाध्यक्ष नरेशकुमार इवारमले शनिबार एक कार्यक्रमका बीच सडकको उद्घाटन गरेका हुन् ।

धरान उपमहानगरपालिका र स्थानीय जनसहभागितामा धरान–१५ स्थित साकेला चौकदेखि धरान क्रिकेट मैदानसम्म ५ सय ६० मिटर लामो उक्त सडकको निर्माण कार्य गत जेठ महिनामा सुसम्पन्न भएको निर्माण उपभोक्ता समितिका सदस्य श्रीप्रसाद वेघाले बताए । २० फिट चौडा सडक कालोपत्रे (पिच) निर्माण कार्य उपभोक्ता समितिको सक्रियतामा निर्माण सम्पन्न गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथिसमेत रहेका १५ नं. वडाध्यक्ष नरेशकुमार इवारमले सडक निर्माण सन्तोषजनक सम्पन्न गरेकोमा उपभोक्ता समितिलगायत सम्पूर्ण उपभोक्तालाई धन्यवाद दिँदै सडकको सुरक्षा एवम् निरन्तर रेखदेख सबैले गर्नुपर्नेमा जोड दिए ।

यसअघि प्रमुख अतिथि इवारमले सडकको उद्घाटन तथा शिलास्तम्भको अनावरण गरेका थिए । उद्घाटनसँगै केलाङ समूहले च्याब्रुङ बजाउँदै सुसनरोड सडकको साकेला चौकदेखि धरान क्रिकेट मैदानसम्म पुगी पुनः साकेला चौकसम्म सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमको शेभा बढाएको थियो ।

सुसन रोड कालोपत्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष वेदकुमार सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार अइन्द्रविक्रम वेघा, वडासदस्यद्वय रामकाजी राई, ज्ञानेन्द्र बस्नेतको सहभागिता रहेको थियो ।

त्यसैगरी धरान उपमहानगरपालिकाका योजना अधिकृत किरण भूजेल, सव–इञ्जिनियर इन्द्र बस्नेत, महादेव चौक टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद गुरागाञी, सडक निर्माण कार्यका सहयोगी रणबहादुर थाङ्देन, सेवालुङ केलाङ लावुङ समूहका अध्यक्ष दिलेन्द्रप्रकाश लाबुङ लिम्बू, समाजसेवी बद्रीनाथ अधिकारीलगायतका महानुभावहरू अतिथिको रूपमा सहभागी रहेका थिए ।

कार्यक्रममा उपभोक्ता एवम् स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । निर्माण उपभोक्ता समितिका ज्येष्ठ सदस्य विष्णु खत्रीले स्वागत गर्नुभएको कार्यक्रम समितिका सचिव विक्रम राईले सञ्चालन गरेका थिए ।