भोजपुर/ भोजपुरको आमचोक गाउँपालिका–३ थिदिङ्खास्थित हागातुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

आइतबार साँझ भएको दुर्घटनामा आमचोक–३ दिङ्लाका २८ वर्षीय दीपक कुँवरको घटनास्थलमै ज्यान गएको हो । गाउँपालिकाको वडा नम्बर ६ बयाङबाट बालुवा र आलु लिएर बालाङ्खा आउँदै गरेको प्रदेश १–०२–००३ त ५८८ नम्बरको ट्याक्टर हागातुङ खोलामा अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।

ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय टङ्क कँुवर, १४ वर्षीय नवहाङ राई र १६ वर्षीय विकास कुँवर रहेका छन् । घाइतेमध्ये टङ्क र विकासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बालाङ्खाले जनाएको छ ।

उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए । ट्याक्टरमा सवार सह–चालक नकुल राई र भरत राई भने सकुशल रहेका छन् ।

ट्याक्टर चालकमाथि हातपात
आमचोक गाउँपालिकामै ट्याक्टर चालक प्रेम विकलाई स्थानीय युवाले कुटपिट गरेका छन् । गाउँपालिकाको वडानम्बर १० पाङ्चाको मिलडाँडामा स्थानीय युवाले चालक विकलाई आइतबार कुटपिट गरेका हुन् ।

उदयपुरको रानीटारबाट खाद्यान्न लिएर गाउँपालिका केन्द्र बालाङ्खा बजार आउँदै गरेको को.२ त ६२ नम्बरको ट्याक्टर चालकलाई कुटपिट गरिएको इलाका प्रहरी कार्यालय बालाङ्खाले जनाएको छ । मादक पदार्थ सेवन गरेका युवाहरूले लकडाउनका बेला किन ट्याक्टर चलाएको भन्दै चालकमाथि कुटपिट गरेको स्थानीयले बताए ।

कुटपिटबाट उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका चालक विकको खुट्टा र टाउकोेमा चोट लागेको ट्याक्टर धनी शिवदेव राईले बताए । घटनापछि २९ वर्षीय नवीन राई र ३२ वर्षीय श्याम राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर प्रदीप लामाले जानकारी दिए ।