इनरुवा/ कोरोना सङ्क्रमितलाई अस्पतालमा राख्न बेड अभाव भएपछि स्थानीय तहले छुट्टै पहल थाल्नुपर्ने आवाज उठ्न थालेको छ ।
अस्पतालमा बेड अभावका कारण कोरोना पोजेटिभ पाइएका व्यक्तिहरू होम आइसोलेसनमा बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदै गर्दा स्थानीय तह बीच समन्वयको खाँचो औंल्याउन थालिएको छ । सुनसरीमा पछिल्ला केही दिनयता कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दो क्रममा छ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार स्थानीय तहहरू मिलेर संयुक्त रूपमा आइसोलेसन तयार पार्नु आवश्यक भइसकेको छ । उनले भने, ‘सबै पालिकाले निश्चित रकम र आवश्यक स्रोत, साधनको हकमा आपसी समन्वय गरी आइसोलेसन कक्ष तयार पार्न सके सबैका लागि उपयोगी हुनसक्छ । उक्त कार्य कोरोना नियन्त्रणको सवालमा प्रभावकारी कदम बन्न सक्छ । त्यसतर्फ बेलैमा सबैले सोच्ने बेला आएको छ ।’
प्रसाईंका अनुसार हरिनगरको भुटाहामा रहेको भुटाहा जेनरल हस्पिटललाई सबै स्थानीय तहले मिलेर साझा रूपमा आइसोलेसन कक्षका रूपमा सञ्चालनमा ल्याउन सक्ने अवस्था छ । पूर्वाधार सम्पन्न उक्त भवनमा केही वर्षअघि अस्पताल सञ्चालन भएकाले समेत बेडसहितका संरचना पर्याप्त छन् ।
पर्याप्त कोठा र बस्तीभन्दा अलग्गै रहेकाले समेत कोभिड–१९ को मापदण्डअनुसार व्यवस्थापन मिलाएर उक्त भवनलाई आइसोलेसन वार्डका रूपमा परिणत गर्न सकिने प्रसाईंको भनाइ छ । त्यसो गर्नसके इनरुवासहित दक्षिणभेगका गाउँपालिका साथै जिल्लाभरकै लागि उपयोगी बन्न सक्ने उनको भनाइ छ ।
उनले आफ्नो तहबाट पहल थालेको भए पनि सरोकारवाला र सबै स्थानीय तहबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याए । जसका लागि हरिनगर गाउँपालिकाले समेत विशेष चासो दिन आवश्यक रहेको प्रसाईंले बताए । हरिनगरले गाउँपालिकाको क्वारेण्टिनका रूपमा प्रयोग गर्दै आएको उक्त भवनको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत आइसोलेसन बनाउने तर्फ छलफल अघि बढाएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल उक्त भवनलाई आइसोलेसन बनाउने तर्फ सकारात्मक देखिएका छन् । शनिबार नै उनले उक्त भवन निरीक्षण गरेको बताए । क्वारेण्टिनका रूपमा प्रयोगमा रहेको दुई तले भवन आइसोलेसनका लागि उपयुक्त देखिएको उनले ब्लाष्टलाई बताए ।
पोखरेलले भने, ‘क्वारेण्टिनमा केही व्यक्ति मात्र रहेको र उनीहरूको रिपोर्ट नेगेटिभ आए सबै घर फर्किने हुँदा भवन सबैजसो खाली हुनेछ । यद्यपि तत्कालका लागि माथिल्लो तल्लालाई आइसोलेसन बनाउने गरी सरसफाइ र आवश्यक व्यवस्थापनको काम थालिएको छ ।’ पोखरेलका अनुसार उक्त भवन जिल्लाभरकै सङ्क्रमित राख्नको लागि प्रयोगमा ल्याइनेछ । उनले स्थानीय तहसँगको समन्वयमा अन्य स्थानमा समेत खाली रहेका भवन तथा क्वारेण्टिनको खोजी थालिएको जानकारी दिए ।