धरान/ कोभिड महामारीका बेला पत्रकार र सञ्चार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सूत्रीय माग अघि सारेको छ ।

युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न १० जिल्लाका अध्यक्षहरूको सहभागितामा शनिबार भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा सञ्चार सम्बद्ध व्यावसायिक सङ्घ– सङ्गठनप्रति ती माग प्रस्तुत गरिएको हो ।

युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरूको कोभिड–१९ परीक्षण दर बढाइयोस् र सङ्क्रमणमा परेका पत्रकारहरूको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरूमा सङ्क्रमण पुष्टि हुनासाथ आइसोलेसन सेण्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न, कोभिड–१९ का कारण आर्थिक सङ्कटको सामना गरिरहेका पत्रकारहरूलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामूलक बनाउन, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न, कोरोना भाइरस सङ्क्रमका कारण बन्द भएका र सञ्चालनमै समस्या भइरहेका अनलाइन, रेडियो र टिभी जस्ता सञ्चार गृहका निम्ति सरकारले ‘सफ्ट बैङ्क लोन’ तथा अन्य कल्याणकारी योजनाको व्यवस्थापन गर्न, साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अङ्क नपुगे पनि स्वतः नवीकरण हुने व्यवस्था गर्न, महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायको विषयमा नेपाल पत्रकार महासङ्घद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न, धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाव दिएर रोजगार बैङ्कको प्रबन्ध गर्न आवश्यक पहल गर्न भनिएको छ ।

यसैगरी वर्ष २०७७ साल अवधिको महासङ्घको सदस्यता नवीकरणमा लाग्ने सम्पूर्ण शुल्क छुट गरियोस् र महासङ्घले आफ्ना सदस्यका लागि कोरोना बिमाको प्रबन्ध गर्न र कार्यरत पत्रकारहरूलाई राष्ट्रिय मिडियाहरूले लामो समयदेखि पारिश्रमिक नदिएकोले तत्काल पारिश्रमिक उपलब्ध गराउन महासङ्घ अनि युनियनका केन्द्रीय समितिले पहल गर्ने माग गरिएको छ ।

युनियनले प्रदेश तथा जिल्लामा भएका समस्याबारे जिल्लास्तरबाटै समाधान गर्न दबाव दिन पनि आग्रह गरेको छ । छलफलले कोरोना सङ्क्रमण पुष्टि भएका पत्रकारहरूको स्वास्थ्य लाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाँप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ । छलफलमा युनियनका पूर्वाञ्चल संयोजक लीलावल्लभ घिमिरे, सुनसरी सभापति पवन अधिकारी, मोरङ सभापति कुमार लुइटेल, पाँचथर सभापति भीम बाँस्कोटा, इलाम सभापति विप्लव भट्टराई, खोटाङ सभापति उत्तम चम्लागाईं, उदपयुर सभापति पर्शुराम थापा, ताप्लेजुङ सभापति सन्तोष पुर्कुटी, तेह्रथुम सभापति टीआर लिम्बू, धनकुटा सभापति हिमा चेम्जोङ र झापा सभापति इन्दु पूर्वेली सहभागी थिए । छलफलपछि संयुक्त हस्ताक्षर गरी विज्ञप्ति प्रकाशित गर्दै सरकारको ध्यानाकर्षण गरिएको सुनसरीका सभापति पवन अधिकारीले बताए ।