विराटनगर/ विराटनगर–१२ पाथीभारा टोलमा अवैध रूपमा घरेलु रक्सी उद्योग सञ्चालन गरेर भारततर्फ तस्करी गर्ने गरेको पाइएको छ । साइमन तामाङको घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणको अवैध रक्सी र कच्चापदार्थ बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

प्रहरीले छापा मारेर बरामद गरेको रक्सी भारततर्फ तस्करी हुने गरेको प्रहरीले जनाएको छ । रक्सी बनाउने उद्योगमा प्रहरीले छापा मारेर रक्सी बनाउने चार हजार लिटर कच्चा पदार्थ, ४० लिटर घरेलु मदिरा र मदिरा निर्माण गर्न प्रयोग गरिएका भाँडा बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी बेदप्रसाद गौतमले बताए ।

‘हामीलाई आएको सूचना अनुसार बरामद रक्सी भारत तस्करी हुने गरेको बुझेका छौं’ उनले भने, ‘यस विषयमा हामीले अनुसन्धान शुरू गरेका छौं । यहाँबाट कहाँ–कहाँ सप्लाइ हुँदोरहेछ, त्यो खोज्नेछौं ।’ उनका अनुसार कहिलेदेखि यसरी अवैध उत्पादन भइरहेको हो भन्ने विषयमा पनि अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउने उनले बताए । ‘अहिले घरबेटी तामाङ फरार छन्’ उनले भने, ‘हामीले खोजी कार्यलाई तीव्र बनाएका छौं ।’

समुदायस्तरमा कोरोना भाइरस फैलिए पछि यसको रोकथाम र नियन्त्रणमा राज्यले गरेको लकडाउनलाई कार्यान्वयन गर्नेतर्फ प्रहरी लागेको अवस्थामा बखरी प्रहरी चौकीदेखि करिब ३ सिय मिटर पूर्वमा रक्सी उद्योग खोलेर अवैध रक्सीको तस्करीमा लागेको प्रहरीले जनाएको छ । ‘हामीले छापा मारेर बरामद गरेको रक्सी उद्योग व्यवस्थित रूपमा सञ्चालनमा रहेको पाइएको छ’ उनले भने, ‘आवश्यक कारबाहीको लागि मोरङ प्रहरीमा पुर्याएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउनेछौं ।’

भारतको बिहारमा मदिरा प्रतिबन्ध लगाएपछि तस्करीमा लागेको गिरोहले नेपालतिरबाट अवैध रूपमा रक्सी पठाउने गर्दछन् । भारतमा रक्सी पुर्याउँदा महँगो मूल्यमा बिक्री हुने बताइएको छ ।

यस्तै प्रहरीले शुक्रबार मोरङ बूढीगङ्गा गापा–६ कोरिया चोकबाट पनि १ सय ६० लिटर घरेलु मदिरा बरामद गरेको छ । प्रहरी चौकी कोयलपुरबाट खटिएको टोलीले उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को.२ ह ५९८० नम्बरको टेम्पोमा अन्दाजी १ सय ६० लिटर घरेलु मदिरा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले मदिरासहित टेम्पो चालक बूढीगङ्गा गापा–१ का २३ वर्षीय सुमन भुजेल र टेम्पोमा सवार बेलबारी नपा –११ का ४० वर्षीया मीना तामाङ र सोही ठाउँकी सविता राईलाई नियन्त्रणमा लिएको छ ।