बराहक्षेत्र । बराहक्षेत्र नगरापालिकाको वार्ड नं. १ र २ का वेवारिसे गाईहरुको संरक्षणको गर्न व्यवस्थित गौशाला निर्माण हुने भएको छ ।

शनिवार चतराको कोशी किनारमा बन्न लागेको गौशाला भवनको शिलान्यास गरिएको छ । धरानका समाजसेवी कृष्णप्रसाद श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । शिलान्यासका क्रममा धरानका समाजसेवी वरिष्ठ उपाध्यक्ष पितरुमल अग्रवाल, उद्योगी महेन्द्र अग्रवाल लगायतले भुमि पुजन गरेका थिए ।

कोशी नदी किनारमा रहेको करिब ५ कठ्ठा ऐलानी जग्गामा बन्ने भवनको लागत करिव ६० लाख रुपैया हुने बताइएको छ । सुनसरी मोरङ्ग सिंचाई योजनाको चतरा नहर नजिकै खहरे खोला संगै रहेको जग्गामा ६० फुट लम्बाई र २५ फुट चौडाईको भवन बनाईने गौशाला सेवा संरक्षण संस्थाका प्रमुख संरक्षक एवं योग प्रशिक्षक किरण कार्कीले बताए ।

गौशालामा १ सय गाई राख्न सकिने छ । वेवारिसे अवस्थामा घुम्ने, बिरामी गाईलाई बचाउन र संरक्षण गर्न गौशाला निर्माण गरिन लागेको योगगुरु कार्कीले जानकारी दिए । गौशालासंगै १० जना अनाथ वालकलाई संरक्षण दिनका लागि बालगृह बनाई सम्पूर्ण शिक्षाको व्यवस्था गरिने बताइएको छ । सो स्थानमा नौ ग्रहको मन्दिर पनि बनाइने गौशाला सेवा संरक्षण संस्थाका अध्यक्ष गणेश सुब्बा विरहीले बताए ।

भवनको लागि धरान, ईटहरी र विराटनगर लगायतका उद्योगी समाजसेवीले सहयोग गर्ने बताएको सुब्बाले जानकारी दिए ।