बिर्तामोड । अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे–खुदुनाबारी सडक अलपत्र परेको छ ।
निर्माण सम्पन्न हुनुपर्ने मिति सकिएको ६ महिनासम्म पनि रकम निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो ।
सडक भत्काएर निर्माण नभएपछि सो क्षेत्रका सर्बसाधारणले सास्ती ब्यहोरिरहेका छन् ।
‘र्याप ३’ को आर्थिक सहयोगमा सडक निर्माण शुरु भएको थियो । र्याप ३ को समय सकिएपछि त्यसको जिम्मा भौतिक पुर्वाधार विकास मन्त्रालयले पायो ।
त्यस्ता खाले योजनाको जिल्लामा रहेको भौतिक पुर्वाधार विकास कार्यालयबाट अनुगमन हुनुपर्ने प्रावधान रहेको छ ।
अर्थ मन्त्रालयले भौतिक पुर्वाधार विकास कार्यालयलाई रकम पठाएपछि निर्माण कम्पनिले त्यो रकम पाउने ब्यवस्था छ । तर, पटक–पटक ताकेता गर्दा पनि रकम नपाएपछि सडक निर्माण हुन नसकेको हो ।
भौतिक पुर्वाधार विकास कार्यालयको ९ करोड रुपैंयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७५ साल असार २७ गते ठेक्का लागेको थियो ।
‘द कञ्चनजंघा–शेर्पा–कञ्चनजंघा’ जेभीले सडक निर्माणको ठेक्का पाएको थियो । २०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भएपनि बजेट निकासा नहुँदा सडक निर्माण कार्य अलपत्र परेको हो ।
समयमा काम सक्न दवाव आएपछि ठेकेदार संस्थाले सब–बेसको काम सकेर कालोपत्रे गर्न तयारी गरेको थियो । तर, असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनिका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए ।
यतिबेला स्थानीयले धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै सडकमा बाँस तेस्र्याएर अवरोध गरेका छन् । निर्माणको काम किन अलपत्र पारेको ? ब्लाष्टले प्रश्न गर्दा शेर्पाले आफु रकम भुक्तानीका लागि मन्त्रालयमा धाइरहेको बताएका छन् ।
‘लगभग १ करोड रकम भुक्तानी पाउन माग गर्दै मन्त्रालय धाइरहेको छु, शेर्पाले भने–‘ आफुसँग भएको रकम खर्च गरिसकेको हुनाले रकम अभावमा काम अघि बढ्न नसकेको हो ।’