विजयपुर । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा २१ वटा एजेण्डा प्रस्तुत हुँदा १० वटा एजेण्डालाई पारित भएको छ ।

अन्य एजेण्डामा आइतबार छलफल हुने भएको हो । १० वटा एजेण्डामध्ये लामो समयदेखि निर्माण गर्ने भनिएको स्मार्ट बसपार्कको संशोधित डीपीआर, धरान–२० विष्णुपादुकामा ५ शøयाको कोभिड–१९ अस्पताल सञ्चालन, विष्णुपादुकालाई पर्यटकीय गाउँ सिफारिस, खानेपानी आयोजनाको परामर्शदाता कम्पनी बीडीएलाई निरन्तरता दिने, ‘क्रिस्मस डे’ को दिन स्थानीय सार्वजनिक बिदा दिनेलगायतमा निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

खतिवडाले स्मार्ट बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बजेटको व्यवस्थापन हुने गरी संशोधन गरेर स्वीकृत गरेको बताए । साथै बेरोजगारसम्बन्धी ४ सय ९ जनाको सूची तयार गरिएको र योजना छनौट गरी सूचीमा परेकाहरूलाई रोजगारी दिने सम्बन्धमा पनि छलफल भएको खतिवडाले बताए । बैठकले धरान–२० विष्णुपादुका, कोकाहा र चिण्डेडाँडालगायतका स्थानलाई समेटेर पर्यटन गाउँ सिफारिस गर्नेे निर्णय गरेको उपमहानगरका पर्यटन महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए । उनले प्रदेश सरकारले दिएको मापदण्डमा ४८ वटा बँुदाहरू रहेको बताए । सो मापदण्डको सम्भावना धरान–२० मा भएकाले सिफारिस गर्ने निर्णय भएको हो ।