पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले वडा नम्वर १० मा निर्माण हुने प्रदेश सरकारको सांस्कृतिक संग्रहालय निर्माणका लागि पहल गर्न र जग्गाको क्षेत्रफल यकिन गर्न समिति निर्माण गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले वडा नम्वर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत साँस्कृतिक संग्रहालय निर्माणस्थलको क्षेत्रफल यकिन गर्न र सम्बन्धित पक्षसँग संग्रहालय निर्माणको काम अघि बढाउने पहल गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

जसको संयोजकमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सदस्यमा ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल र १० नम्वर वडा सदस्य अनोज घिमिरे चयन भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

नगरको सडक क्षेत्रमा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार गरी मानवसेवा आश्रम विराटनगरमा पुनस्र्थापना गराउने कार्यको अगुवाई नगर उपप्रमुख वास्तोलाले गर्ने बैठकले निर्णय गरेको छ । यसका साथै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका प्रस्तावहरुको फिल्ड भेरिफिकेसन गर्ने, सिंचाईमा मोटरका लागि रकम थप व्यवस्थापन गर्ने सहितका निर्णय भएको छ ।

बैठकले, राजस्व परामर्श समितिले केही छुट भएका करहरुको सिफारिसलाई अनुमोदन गर्नुका साथै सडक क्षेत्रमा निर्माण सामग्री राखिए तथा नगरको अनुमति नलिई सडकमा सूचना बोर्ड ( होडिङ बोर्ड ) राखिए जरिवाना सहितका कारवाही गर्ने, बजार खण्डमा व्यापारिक प्रयोजनका लागि पार्किङ गर्न नपाउने र त्यसो गरेमा जरिवाना गर्ने पनि निर्णय गरेको छ ।