इनरुवा । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहानी समयमा समेत कार्यालय संचालनमा ल्याएको छ ।  १० बजेबाट कार्यालय खुल्ने भएपनि सुनसरीमा भने प्रशासन कार्यालय बिहान ६ बजेबाटै खुल्ने गरेको छ ।

कार्यालयले सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै सहज सेवा प्रवाह गर्न भन्दै बिहानी सत्रमा नागरिकता बनाउने काम गर्दै आएको छ । सोही अनुरुप जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहानी सेवा मार्फत नागरिकता वितरणको कार्यलाई अघि बढाएको छ ।

आवश्यक कागजात सहित कार्यालय पुगेका सेवाग्राहीलाई सुनसरी प्रशासनले तत्कालै नागरिकता बनाई दिने गरेको छ । नागरिकता लिन बिहानैबाट पालो कुर्नेको भीडलाई मध्यनजर गर्दै सहज सेवा प्रवाहको बन्दोवस्ती मिलाउन बिहानी सेवा थालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

उनले बिहानी सेवा सुरु भएसँगै सेवाग्राहीले लामो लाइन बस्नु पर्ने बाध्यता हटेको बताए । प्रजिअ पोखरेलले कोरोनाको महामारीलाई समेत मध्यनजर गर्दै चालिएको बिहानी सेवा प्रभावकारी देखिएको बताए । जसलाई आवश्यक्ता अनुसार निरन्तरता दिइने बताए ।

सुनसरी प्रशासनले बिहानको ७ बजे देखिनै नागरिकता फाँटको काम संचालनमा ल्याउने गरेको छ । बिहानी सेवा संचालनमा आएसँगै कार्यालय समयमा दिउँसो हुने सेवाग्राहीको भीडमा समेत कमी आएको छ । प्रशासन कार्यालयमा बिहानको समयमा नागरिकता लिन पुग्नेको संख्या समेत थपिदै गएको छ ।

दिउँसो अन्य कामकाजका कारण समेत कार्यालयमा भिडभाड हुने भएको हुँदा सेवाग्राहीको भीडलाई व्यवस्थित गरी सेवा प्रवाह गर्दै आएको प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताए ।
सुनसरी प्रशासनले कोरोनको कारण देखाउँदै कार्यालयबाट प्रवाह हुने सेवाको लागि समय तालिका तय गरेको छ ।

यद्यपि बिहानी सेवा भने सबै स्थानीय तहको हकमा खुला रहेको अधिकृत न्यौपानेले बताए । यसैबिच सुनसरी प्रशासनले असहाय, अशक्त र अपाङग व्यक्तिको हकमा घरमै पुगेर नागरिकता उपलब्ध गराउदै आएको छ । स्वयं प्रमुख जिल्ला अधिकारीले सम्वन्धित व्यक्तिलाई भेटेर नागरिकता प्रदान गर्ने गरेका छन् ।