धरान/ नेपालमा प्रतिबन्धित क्याटफिस माछा भारतबाट भिœयाउने क्रममा सुनसरी सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।
व्यापारीहरूले मोटरसाइकलमा लोड गरेर ल्याएको अवस्थामा शुक्रबार साँझतिर करिब २ सय केजी क्याटफिस माछा बरामद गरिएको हो । जसको बजारमूल्य ५० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । क्याटफिस माछा भारतमा पनि प्रतिबन्धित छ तर, उत्पादन भने हुँदै आएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालयले झण्डै ७३ सय केजी क्याटफिस माछा बरामद गरेको थियो । मागुरकै एउटा प्रजाति क्याटफिस माछा हो । भारतले सन् २००० देखि क्याटफिस माछा प्रतिबन्ध लगाएको थियो । यो माछा थाइल्याण्डमा सबैभन्दा बढी पालिन्छ ।
क्याटफिसमा पारो नामक तŒव पाइने भएकाले पनि यसलाई नेपालले प्रतिबन्ध गरेको छ । जिल्ला प्रहरीबाट खटिएको विशेष प्रहरी टोलीले इनरुवा नगरपालिका–९ साम्बाला चोकबाट को.९ प ७५९४, को.३ प ५९२६, को.२ प ८२४१ र को.१० प ३९२१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको माछा बरामद गरेको हो ।
त्यस्तै प्रहरीले १२ वटा बोइलर कुखुरा पनि बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्न खोज्दा तस्करहरू मोटरसाइकल छाडेर भागेका थिए । माछा र बोइलर कुखुरालाई भेटेरिनरी अस्पताल तथा पशुपंक्षी सेवाविज्ञ केन्द्र सुनसरीका भेटेरिनरी अधिकृतको उपस्थितिमा नष्ट गरिएको छ भने मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।
त्यस्तै भन्सार छली गरी नेपाल ल्याइएको सुर्तीजन्य पदार्थ पनि नियन्त्रणमा लिइएको छ । इटहरी–५ कलङ्की मोडबाट को.१ ख ६८९० नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा ५ लाख १६ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । प्रहरीका अनुसार मिनी ट्रकका चालक मोरङको सुन्दरहरैंचा–९ का २३ वर्षीय सैयद आलमलाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै सामान लिएर आउँदै गर्दा पिछा गर्दै आएका सुनसरी कोशी गाउँपालिका–५ का ३३ वर्षीय महबुब आलम र ३४ वर्षीय सम्पतलाल कामतलाई नियन्त्रणमा लिइएको छ । सम्पतलालले चलाएको बा.३१ प २९४३ नम्बरको मोटरसाइकल र सुर्तीजन्य पदार्थका धनी कोशी गाउँपालिका–५ का ३६ वर्षीय कैसर आलमलाई समेत नियन्त्रणमा लिइएको छ ।
बरामद सामग्री र सवारी साधनहरू आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको छ । प्रहरीले धुलो सुर्ती र सैनिक लेखिएको १८ सय प्याकेट तयारी खैनी बरामद गरेको हो ।