यासोक । पछिल्लो समयमा बाताबरणिय परिवर्तनका कारण खानेपानी श्रोतहरु सुक्दै जानथालेका छन् । वर्षाद कम भएकै कारण कृषिमा ठुलो समस्या देखा परेको छ । बताबरण जोगाउँन र सिचाँहीको व्यवस्था गर्न भन्दै प्रदेश सरकारले पाँचथरको सुख्खाक्षेत्र स्थीत कुम्मायक गाउँपालिका वडा नम्बर १ मा पक्की पोखरी निर्माण गरेको छ ।

सुख्खाक्षेत्रका ३० घरधुरीलाई सिचाँही व्यवस्था गर्न पोखरी निर्माण गरेको हो । एक पक्की पोखरी सहित अन्य तीन कच्ची पोखरी निर्माण गर्न प्रदेसको १४ लाख रुपैयाँ खर्च भएको छ । दुई लाख लिटर पानी जम्मा गर्न सकिने पोखरीमा अहिले एक लाख बढि पानी संकलन गरिएको छ ।

वर्षादको समय र अन्य खेरगएको पानी पोखरीमा संकलन गरी सिचाँहीमा प्रयोग गर्दै आएको स्थानीय शिक्षक ऐगेन्द्र बहादुर खड्काले बताए । जलधार संरक्षणको निम्ति प्रदेश सरकारले एक पक्की पोखरी र अन्य कच्ची पोखरी निर्माणको लागि १४ लाख रकम बिनियोजन गरेको थियो । पोखरीबाट ७ हजार बिरुवामा सिचाँइ गर्दै आएकोे खड्काको भनाइ छ ।

सुख्खाक्षेत्रमा उत्पादन हुने आप, लिचि, कटर, टिक, पाउलोनिया लगायतका बिभिन्न प्रजातीका बिरुवा सिचाँहीको लागि पोखरीले ठुलो सहयोग पु¥याएको स्थानीय रामबहादुर कार्कीले बताए । ३० घरधुरीले बिभिन्न प्रजातिका बिरुवाबाट आम्दानी गर्ने उदेश्यले पोखरी निर्माण गरी सिचाँहीको व्यवस्थापन गरिएको उनि बताउँछन ।

गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनाबाट सिचाँइ गर्न कठिन भएकाले पानी संकलन विधिबाट सिचाँही गर्न सहज हुने भएकाले यो बिधि अपनाएको स्थानीय उपभोक्ताहरुले बताएका छन । सुख्खाक्षेत्रमा प्रदेश, गाउँपालिका र वडागत बजेटबाट प्लाष्टिक पोखरी निर्माण र पक्की पोखरी निर्माण हुदै आएको छ ।

खेर गएको पानी संरक्षण गरी सिचाँहीमा प्रयोग गर्न साना ठुला गरी गाउँपलिकामा ५ वटा पक्की पोखरी निर्माण गरिएको छ । उक्त पोखरीबाट सामुहिक कृषि खेती, पशुपालमा ठुलो सहयोग पुर्याएको गाउँपालिकाले जनाएको छ ।