भद्रपुर । कमसल सीमेन्ट प्रयोग गरेर सडकको नाला बनाएको भन्दै स्थानीयले भत्काइदिएका छन् ।

झापाको धुलाबारी–ज्यामिरगढी–भद्रपुर सडकखण्डमा निर्माणाधीन सडकको नालीमा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेपछि नाला भत्काइएको हो । 

निर्माण कम्पनीले नाली निर्माणमा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको स्थानीयले दाबी गरेको छन् । निर्माण भएको २५ मिटर नाली २४ घण्टा बित्दा समेत सेट नभएर उप्किएको सडक निर्माण उपभोक्ता अनुगमन समितिका संयोजक पदम गौतमको आरोप छ ।

सिमेन्टकै कारणले गर्दा नाला गुणस्तरहीन भएकाले भत्काउन लगाइएको उनले जनाए । यस विषयमा छानबिन हुनुपर्ने, कमजोरी देखिए कारबाही गर्नुपर्ने अनुगमन समितिको निष्कर्ष रहेको संयोजक गौतमले बताए । 

धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुरसम्म तथा धुलाबारीदेखि इरौँटार सडकखण्डको नालीसहित कालोपत्रेको सडकको ठेक्का लागेपछि अहिले काम सुरु गरिएको छ ।

दुई चरणमा गरिने कामअन्तर्गत पहिलो चरणको ज्यामिरगढी–भद्रपुर सडकखण्डको कामले तीव्रता पाएको छ । करिब २२ करोड रुपैयाँ लागतमा पहिलो चरणमा आठ किलोमिटर सडकको काम सुरु भएपछि नाली निर्माणमा विवाद भएको देखिएको छ ।

धुलाबारी–भद्रपुर सडक खण्डको ठेक्का हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको छ । ‘नालीको काममा यसअघि गोरखकाली ओपिसी, अल्ट्राजस्ता सिमेन्टको प्रयोग गर्दै आएका थियौँ, पछिल्लो पटक मारुती सिमेन्ट झन् राम्रो भनेर प्रयोग गर्दा नराम्रो परिणाम आएको निर्माण कम्पनीका ठेकेदार प्रमाननन्द भट्टराईले बताए ।

विश्वासको आधारमा ४०० बोरा सिमेन्ट माग गरिएकामा कमसल सिमेन्ट पठाएर आफूहरूलाई उद्योगले झुक्काएको उनको दाबी छ । समस्या आएपछि तत्काल मारुती सिमेन्ट प्रयोग नगर्न कामदारलाई भनिसकेको उनले जनाए ।

कमसल सिमेन्ट प्रयोग भएको पाइएपछि सिमेन्टको ल्याब परीक्षणका लागि पठाइसकिएको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ठेक्का लागेको सो सडक खण्डको प्रदेश १ का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले शिलान्यास गरेका थिए ।

उक्त सडक सञ्जालले झापा र इलामलाई जोड्ने प्रदेश सरकारको बहुप्रतिक्षित योजनामा पर्छ । ठेक्का लागिसकेको ज्यामिरगढी–भद्रपुर सडकखण्डमा निर्माण कम्पनीले पाँच समूहलाई पेटी ठेक्का दिएर काम लगाउँदै आएको छ । २०७९ असार ३१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।