पथरीशनिश्चरे ।  पाहुना गएको अवस्थामा निधन भएका मोरङको पथरीशनिश्चरे १० जिरिखिम्ती निवासी बालअधिकारकर्मी सञ्जीप भण्डारीको निधनप्रति निष्पक्ष छानविन गरिनु पर्ने परिवारले माग गरेको छ ।

पथरीशनिश्चरे १० नयाँ मंगलबारेका युवराज वास्कोटाको घरमा पाहुना गएको अवस्थामा मंगलबार विहान मृत भेटिएका १९ वर्षीय भण्डारीको बुधबार अन्तिम दाहसंस्कारका क्रममा उपस्थित अगुवाहरुसमक्ष मृतककी आमा राधिका भण्डारीेले घटना संकास्पद भएको भन्दै निष्पक्ष छानविनको माग गरेकी हुन् ।

उनले १ नम्बर प्रदेश उपसभामुख सरस्वती पोखरेल सहित उपस्थित नगरका जनप्रतिनिधि सहितका अगुवाहरुसमक्ष त्यस्तो माग गरेकी छन् । साथै उनले घटनाको छानविनका लागि मंगलबार नै इलाका प्रहरी कार्यालय पथरीमा उजुरी समेत दर्ता गराएकी छन् ।

नेकपाका नेता समेत रहेका वास्कोटाले भण्डारीको निधनले आफु मर्माहत भएको बताउँदै घटनाको निष्पक्ष छानविनको पक्षमा आफु रहेकोले छानविनमा पूर्ण रुपमा सहयोग पुर्याउने बताएका छन् ।

स्थानीय डाँस खोलामा भएको अन्तिम दाहसंस्कारका क्रममा नेकपा ओली समूहका केन्द्रीय सदस्य डीपी राई र सभासद चण्डीप्रसाद राईले पार्टीमा सक्रिय भण्डारीको पार्थीव शरीरमा नेकपाको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

दाहसंस्कारमा पथरी शनिश्चरे, उर्लाबारी, मिक्लाजुङ, बेलबारी, कानेपोखरीमा जनप्रतिनिधि सहित झापा, मोरङ र सुनसरीका बाल सञ्जाल, युवा संघ सहितका संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको थियो । शबको मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरिएको र रिपोर्ट भनें आउन बाँकी रहेको छ ।

बाल सञ्जाल मोरङका पूर्व सदस्य, पथरी शनिश्चरे नगरका पूर्व अध्यक्ष रहेका भण्डारी सानै उमेरदेखि बालअधिकारका क्षेत्रमा सक्रिय तथा सामाजिक सक्रियताका आधारमा प्रदेशका प्रीय एव्म तिक्ष्ण दिमाग भएका सम्भावनायुक्त युवाका रुपमा चर्चामा थिए ।