इटहरी/ सरकारी लगानीका सामुदायिक विद्यालयमा गुणस्तरीय पठन–पाठन हुँदैन भन्ने बुझाइ अभिभावक र विद्यार्थीमा कायमै छ । संस्थागत विद्यालय (बोर्डिङ) मा मात्र राम्रो पढाइ हुन्छ भन्ने बुझाइका कारण अधिकांश अभिभावकहरू आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैनन् । तर, इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित राष्ट्रिय माध्यमिक विद्यालय अपवाद बनेको छ विद्यार्थी र अभिभावकका लागि । 

शिक्षकको दरबन्दीको अनुपातमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयहरू एकापसमा गाभ्ने नीति सरकारले अख्तियार गरिरहेको छ । यता इटहरीको राष्ट्रिय मावि भने विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित उक्त सामुदायिक विद्यालयमा बोर्डिङ छाडेर भर्ना हुनेहरूको सङ्ख्या बढेको छ । जबकि अन्यत्रको अवस्था हेर्ने हो भने सामुदायिक विद्यालय छाडेर बोर्डिङमा पढाउने फेसन चलेको छ । 

विद्यालयका प्रधानाध्यापक शरण बस्नेतले भने, ‘अरू सामुदायिकमा विद्यार्थी अभाव भएको बेला यो विद्यालयमा विद्यार्थी बढ्नुको कारण एउटै छ, त्यो हो नियमित र गुणस्तरमा आधारित पढाइको निरन्तरता । एसईईको नतिजालाई आधार मान्ने हो भने पनि उत्कृष्ट छ ।’ उनका अनुसार अरू सामुदायिक विद्यालय र राष्ट्रिय माविमा पढाउने सरकारी दरबन्दीका शिक्षकले पाउने तलब सुविधा उस्तै हो । तालिम सबैले एउटै पाएका हुन्छन् । अन्यत्र सामुदायिक विद्यालयमा पनि पर्याप्त शिक्षक छन् ।

विद्यालयमा अहिले १ हजार ४ सय ८६ विद्यार्थी छन् । त्यसमध्ये १ सय ८२ जना प्राविधिक शिक्षातर्फका छन् । विद्यार्थी र अभिभावकको रोजाइमा उक्त विद्यालय पर्न सफल हुनुमा शिक्षकको मिहिनेत नै मुख्य भएको उनले बताए । उनले भने, ‘अभिभावकको बुझाइमा यो विद्यालयको पढाइ राम्रो छ । एसईईमा राम्रो नतिजा ल्याउँछ । यहाँबाट एसईई गरेपछि अन्यत्र अध्ययन गर्दा पनि शान हुन्छ भन्ने मान्यता स्थापित हुन थालेको छ ।’

अभिभावकहरू पनि विद्यालयलाई थप गुणस्तरीय बनाउन सल्लाह सुझाव र अन्य सहयोग गर्न तयार भएको प्रअ बस्नेतले बताए । शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सम्भव भएको उनले बताए । विद्यालयमा बोर्डिङमा जस्तै नर्सरी, केजी कक्षाको व्यवस्था गरिएको छ । कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । त्यस्तै कक्षा ११ र १२ मा पनि अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको प्रअ बस्नेतले बताए । 

प्रअ बस्नेतको अनुभव छ, को विद्यार्थी कस्तो छ र उसको रुची केमा बढी छ भन्ने  विषयमा छलफल गरेर कक्षामा विद्यार्थीले बुझ्ने गरी पढाउने हो भने स्वतः नतिजा सुधार हुुन्छ । अर्को उपायमा जान्ने विद्यार्थी र कमजोर विद्यार्थीलाई मिलाएर राख्नुपर्ने उनले बताए ।   शिक्षा कार्यालयको मूल्याङ्कनमा यो विद्यालय हरेक वर्ष जिल्लाको उत्कृष्टभित्र पर्दै आएको छ । विद्यालयको शैक्षिक अवस्था मजबुत बनाउन परीक्षा, अनुशासन, शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति विभाग बनाइएका छन् ।

विद्यार्थीको स्वास्थ्य जाँच

विद्यालयको राम्रो पक्ष विद्यार्थीहरूको स्वास्थ्य जाँच पनि हो । शिक्षकले कक्षामा जतिसुकै राम्रो पढाए पनि विद्यार्थीमा शारीरिक  समस्या भयो भने त्यसको अर्थ हुँदैन । उनले भने, ‘त्यसैले हामीले विद्यालयमै नर्स राखेर स्वास्थ्य क्षेत्र हेर्ने जिम्मा दिएका छौं । विद्यार्थीहरूको स्वास्थ्य अवस्था केही भइहाले तुरुन्त उपचार गर्ने गरिएको छ ।’