ताप्लेजुङ । चार वर्षअघि ताप्लेजुङको खोक्लिङस्थित कार्य क्षेत्रमा नै हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको सम्झनामा ताप्लेजुङमा चौँथो स्मृति दिवस मनाइएको छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आयोजनामा शुक्रवार सदरमुकाम फुङलिङमा स्मृति समारोहको आयोजना भएको थियो । बिहान सामुदायिक भवनमा स्व. शाहीको तस्बिरमा माल्यार्पणपछि कविता तथा गजल वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा ट्रेड युनियनका केन्द्रिय अध्यक्ष भोला पोख्रेलसमेतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीले शाहीको कामप्रतिको लगाव र साहसलाई आत्मासाथ गर्दै अन्य कर्मचारीले विचलित नभई राष्ट्रसेवामा लाग्नुपर्ने भावका रचना वाचन गरेका थिए । दिउँसो डिभिजन वन कार्यालय ताप्लेजुङ परिसरमा निमार्ण गरिएको शाहीको सालिक अनावरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको ट्रेड युनियनका सचिव नवराज गिरीले जानकारी दिए ।
शुक्रवार नै कर्मचारीहरुको ट्रेड युनियन अधिकार विषयमा अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो । ईलाका वन कार्यालय खोक्लिङमा कार्यरत जाजरकोट दसेरा ८ निवारी गणेश शाहीको २०७३ साल पौष १७ गते कार्यक्षेत्रमा खटिएकै अवस्थामा विभत्स हत्या गरिएको थियो । निजी र सामुदायिक वनको सिमाना बारेको बिवादले उग्ररुप लिँदा आक्रोसमा आएका सविन लिम्बु भनिने टेक प्रसाद लिम्बुले घाँटी रेटी हत्या गरेका थिए । हत्यामा संलग्न लिम्बु हाल जिल्ला कारागार ताप्लेजुङमा छन् ।