भद्रपुर ।  झापाको भद्रपुरमा पहिलो पटक इन्फरमेसन टेक्नोलोजी (आइटी) सम्बन्धी सेवा तथा प्रशिक्षण दिने कार्यालयको स्थापना गरिएको छ । 

अङ्ग्रेजी नयाँ वर्ष २०२१ तथा राष्ट्रिय टोपी दिवसको अवसरमा भद्रपुर ५ बजारस्थित कामेश्वर कम्प्लेक्सभित्र स्थापना गरिएको सजिलो खोज कार्यालयको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । 

स्थानीय युवा आकाश शर्मा र भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको लगानीमा स्थापना गरिएको कार्यालयको प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

नेपाल सूचना÷प्रविधिमैत्री बन्दै गएपछि पछिल्लो समय आइटीमा रोजगारीको आकर्षण बढ्दै गएको छ । सफ्टवेयर, हार्डवेयर, नेटवर्किङलगायत व्यवासयीक क्षेत्रमा लाग्ने युवायुवतीलाई थप सहयोग र मद्दत पुग्ने उद्देश्यले भद्रपुरमै प्रशिक्षण तथा सेवाको सुरुवात गरिएको कार्यालयका प्रबन्ध निर्देशक आकाश शर्माले जानकारी दिए । 

कोभिड १९ को महामारीपछि सबै प्रविधिमैत्री सूचना लिनेदिने तर्फ आकर्षण हुन थालेको उनको भनाइ छ ।

इन्टरनेटको माध्यमबाट प्रविधिमैत्री सूचनामा अघि बढेपनि ल्यापटप, कम्प्युटर र मोबाइलमा रहेका सबै जानकारी ह्याकरले सजिलै चोर्न सक्ने भएकोले इन्टरनेट प्रयोगकर्ताले कसरी आफ्नो व्यक्तिगत वा संस्थागत विवरण सुरक्षित राख्न सक्छन्, त्यसलाई नै मध्यनजर गरी यस सेवाको सुरुवात गरेको उनले बताए ।

आवश्यक पर्ने सफ्टवेयर, वेवसाइड, एप्लिकेशन बनाउनुका साथै यसलाई कसरी ह्याकरबाट बचाउन सकिन्छ भन्ने विषय तर्फ काम पनि गरिने उनले जनाए । 

सजिलो खोज कम्पनीको स्थापना सन् २०१९ मा काठमाडौँ, त्यसपछि दाङमा कार्यालय खोलेर नै यस सेवाको सुरुवात गरेको उनले जानकारी दिए ।

विदेशमै मान्यता दिने खालको शिक्षा यहाँबाटै दिइने उनले बताए । अनुमानित ११ लाखको लागतमा सेवा सञ्चालनमा ल्याएको सञ्चालक बन्धु कार्कीले जानकारी दिए ।