धरान । नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको सुनसरी शाखाले कोरोना संक्रमण भई निको भएका ९ सञ्चारकर्मीहरुलाई बिमा रकम हस्तान्तर गरेको छ ।

प्रेस युनियन सुनसरीले सुनसरीका २ सय ६६ सञ्चारकर्मीको कोरोना बिमा गरिदिएको थियो । त्यसमध्ये ३० सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि २१ जनालाई बिमा रकम प्रतिव्यक्ति एक लाख हस्तान्तरण गरेको युनियनले सोमबार धरानमा आयोजीत कार्यक्रममा ९ जनालाई एक÷एक लाखको चेक हस्तान्तरण गरेको हो । 

सोमबार बिमा रकम पाउने सञ्चारकर्मीहरुमा नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले सहित सञ्चारकर्मीहरु निर्मल कार्की, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सिना, कृष्ण अधिकारी, शिशिर राई, संजीता धमला र भरतराज शर्मा (गोपाल कामत) छन् ।

सोही कार्यक्रममा मस्तिष्क पक्षघात भई उपचारत सञ्चारकर्मी दिलीप रिनोहङलाई नगद १० हजार सहयोग समेत प्रदान गरिएको थियो ।

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा सम्पन्नकार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, कृष्ण अधिकारी, गिरिराज आचार्य, नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही, औजार प्रकाशनका अध्यक्ष मोतीराज सुनुवार लगायतले प्रेस युनियनले प्रशंसनीय काम गरेको बताएका थिए ।