विराटनगर । विराटनगर– धरान हुँदै किमाथांका जोडने निर्माणधीन ६ लेनको सडक निर्माणको क्रममा सुनसरीको दुहबीका स्थानियले ‘बिल्टअप’ क्षेत्रको संरचना नभत्काउन माग राखेका छन् ।
दुहबी बिल्टअप एरिया संघर्ष समितले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि सरकारले दुहबीको ६३० मिटर बजार क्षेत्रलाई बिल्टअप क्षेत्र रूपमा घोषणा गरि राजपत्रमा प्रकाशित गरेको हुनाले उनीहरूले नभत्काउन माग राखेका हुन् ।
‘पूर्वाञ्चलको एतिहासिक बजारको रूपमा दुहबी स्थापित भएको छ,’ संघर्ष समितिको उपाध्यक्ष बीपि रौनियारले पत्रकार सम्मेलनमा भने, ‘एतिहासिक बजार भएको कारणले गर्दा दुहबीको ६३० मिटर क्षेत्रलाई तत्कालिन सरकारले २०५४ चैत ३ गते बिल्टअप क्षेत्रको रूपमा घोषणा भइ राजपत्रमा समेत प्रकाशित भएको छ ।
अहिले एतिहासिक बजार क्षेत्रलाई राज्यले भत्काउन तयारी गरेको छ ।’ उनले कुनै हातलमा पनि राजपत्रमा प्रकाशित भएको बिल्टअप क्षेत्रको संरचना भत्काउन नहुने उनले बताए ।
‘हामीले एतिहासिक बजार क्षेत्रको संरचनाहरू नभत्काएर बैकल्पिक सडकहरू निर्माण गर्न सरकारी निकायलाई सुझाब दिएका थियौं,’ संघर्ष समितिका उपाध्यक्ष रौनियारले भने, ‘हामीले दिएको सुझाबलाई बेवास्था गर्दै अहिले सडक विभागले पुस १८ गते बिल्टअप क्षेत्रको घरहरू हटाउन सूचना प्रकाशित गरेको छ ।’
बिल्टअप क्षेत्रमा सडक विस्तार गर्न नमिल्ने भएकोले स्थानियको मागलाई वेवास्था गरि निर्माण प्रक्रियाको काम अगाडी बढाए अन्दोलनमा उत्रिने उनले चेतवनी दिए ।
बिल्टअप क्षेत्रमा २ सय ५४ घर रहेको छ । यस क्षेत्रमा सडक बिस्तार भएको खण्डमा सबै घर भत्कीएर स्थानियको उठिबास हुने बिल्टअप संघर्ष समितिका सदस्य शंकर रौनियारले बताए ।
त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो । त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव हुने उनले बताए ।
बिल्टअप क्षेत्रको कारणले गर्दा दुहवी बजारमा लामो समयदेखि सडक विस्तारमै समस्या रहदै आएको छ । यही समस्याको कारण विराटनगर–इटहरी सडक खण्डको दुहवी बजार क्षेत्रमा दुई किमि ठेक्का लाग्न नै बाँकी थियो ।