इनरुवा । बिदाको दिन कुदाइएका सरकारी नम्बर प्लेटका मोटरसाईकल र गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरी कार्यालय इनरुवाले एक दर्जन भन्दा बढी यातायातका साधन नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरीले उक्त यातायातका साधन नेपाल निजामती कर्मचारी संगठनको कार्यालय अगाडी बाट नियन्त्रणमा लिएको हो । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनकालागि आयोजित चुनावमा सहभागि हुन पुगेका कर्मचारीले प्रयोग गरेका सरकारी यातायातका साधन ट्राफिकले नियन्त्रणमा लिएको हो ।
शनिबार बिदाका दिन भएकाले दुरुपयोग गरी प्रयोगमा ल्याइएका मोटरसाइकल र चार पाङग्रे गाडी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले इनरुवाले जनाएको छ । सडक किनारमा भेला पारी सिक्रीले बाँधिएका यातायातका साधन उपर कारबाही प्रक्रिया अघि बढाईने बताइएको छ ।