धरान । बराहक्षेत्र नगरपालिका–१ मा सञ्चालित हरिद्वार कृषि सहकारी संस्थाले प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिरमा खुवा (कुराउनी) उत्पादन सुरु गरेको छ ।
हरिद्वार कृषि सहकारी संस्था र बराहक्षेत्र मन्दिरले संयुक्तरुपमा शनिबारबाट मन्दिर क्षेत्रबाटै गाईको दुधबाट बनेको खुवा उत्पादन र बिक्री सुरु गरेका हुन् ।
शनिबार एक कार्यक्रमका बीच बराहक्षेत्र वृहत्तर विकास समितिका अध्यक्ष भेषराज घिमिरे, हरिद्वार कृषि सहकारीका अध्यक्ष लोकबहादुर दाहाल र बराहक्षेत्र मन्दिरका मुलपुजारी किरण घिमिरेले खुवा विक्री कक्षको उद्घाटन गरेका छन् । कार्यक्रममा बराहक्षेत्र मन्दिर क्षेत्रका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बराहक्षेत्र मन्दिरमा आउने भक्तजनका लागि प्रसादका रुपमा हाल दैनिक १० केजी खुवा उत्पादन गर्ने र विस्तारै माग अनुसार बढाउने सहकारी संस्थाका व्यवस्थापक कृष्ण भण्डारीले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बृहतर बराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरेले सहकारीले नयाँ कार्यको सुरुवात गरेको बताए । उनले मन्दिर क्षेत्रमा खुवा उत्पादन हुँदा एकातिर भक्तजनलाई सुद्ध खुवा प्रसादका रुपमा घर लैजान सजिलो हुने र अर्कातिर गाईपाल्ने किसानलाई राहत पुग्ने बताए ।