धनकुटा । संखुवासभाको मादी नगरपालिका–८ पुर्खौली घर भै हाल धनकुटाको ताङ्खुवामा वस्दै आएका नेत्रबहादुर कडुवालले प्रहरीले आफुलाई बिना कारण कुटपिट गरेको गुनासो गरेका छन् ।
छथरजोरपाटी गाउँपालिका–३ तांखुवामा १०÷११ वर्ष अघि देखी वस्दै आएका ४१ वर्षीय कडुवालले आफु विरामी आमा भेट्न संखुवासभाको मादी जानेक्रममा मादी मंगलवारे नजिकै चौकीवाट गएका प्रहरीहरुले बिना कारण निर्घात कुटपिट गरेको बताएका छन् । उनी ७४ वर्षिया विरामी आमा तुलसा कडुवाललाई भेट्न पौष–२३ गते संखुवासभाको मादी–८ स्थित् ओईराङ्ग पुगेका थिए । विरामी आमा भेट्न गएकै दिन राती ८ वजेको समयमा मंगलवारे चौकीका बर्दी लगाएका २ र नलगाएका २ गरी ४ जना प्रहरीहरुले आफुलाई कुटपिट गरेको उनले बताए । आफुसंगै आफ्नी भाई वुहारीलाई समेत उनीहरुले कुटपिट गरेको उनको दाबी छ । मादी मंगलवारे चौकी इन्चार्ज नरेश आचार्य, हल्दार लेखनाथ रेग्मी लगायत २ प्रहरी जवानले मादक पदार्थ सेवन गरेर आफुलाई गम्भिर घाईते हुने गरी कुटपिट गरेपछि उपचार गर्न जिल्ला अस्पताल धनकुटा आएको कडुवालले ब्लाष्टलाई वताए । घरवाट मंगलवारेसम्म १ घण्टाको बाटोसम्म हिडाएर कुट्दै लगेको उनले बताए ।
घटनाको विषयमा मादी चौकीका इन्चार्ज सई नरेश आचार्यलाई ब्लाष्टले पटक पटक फोन सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । प्रहरीको कुटाईबाट कडुवालको यौन अंग सुनिएको, टाउको, छाती, तिघ्रामा चोट लागेका उनको जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको छ । चारजना प्रहरी भएर आफुलाई जताभावी रातीको समयमा कुटपिट गर्दै मरणासन्न बनाएको र रातरात चैनपुर इलाका प्रहरी कार्यालय पु¥याएको उनले बताए । आफूले कुनै गल्ती नै नगरी प्रहरीले मरणसन्न अवस्थासम्म पु¥याएको र जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको कडुवालले बताए । जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले घाईते कडुवाल खतरामुक्त रहेको जानकारी दिए ।
प्रहरीको कुटाईबाट घाईते भएका कडुवाललाई उनका दिदि सम्झना भट्टराई र श्रीमती लीला कडुवाल कार्कीले उपचारको लागी चैनपुरबाट धनकुटा ल्याएका थिए । प्रहरीले शनिवार साँझसम्म घाउजाँच केस फाराम नगरेको र जाहेरी पनि लिन नमानेको दिदि सम्झनाले ब्लाष्टलाई बताईन । सो विषयमा धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारी घाईतेको घाउजाँच केस फाराम विरामी गर्न चाहे धनकुटामा हुने तर जाहेरी भने घट्ना संखुवासभाको भएकोले उतै गएर दिनु पर्ने ब्लाष्टलाई बताए ।
डिभिजन वन कार्यालय संखुवासभा खाँदवारीका प्रमुख इन्द्र सापकोटाका अनुसार ३÷४ महिना अघि मादी–८मा अवैध काठ वरामद भएको थियो । सो काठ काटेको आरोप नेत्रबहादुरका साईंला भाई नारद कडुवाललाई लागेको थियो । भाई नारद भने फरार रहेको डिभिजन वन प्रमुख सापकोटाले वताए । उनले भाई नारदलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीसँग सामान्य मुडभेड भएको हुन सक्ने बताए ।
तर घाइतेकी दिदी सम्झनाले भने झुटो आरोप लगाएर आफ्ना भाइलाई वन कार्यालयले फसाएको बताईन् । भाईको घरमा अर्कैले काठ काटेर राखेको र त्यसको आरोप आफ्नो भाइलाई फसाउनका लागि लगाइएको उनको आरोप छ । उनले भाइले आरोप खेपिरहेको बेला अर्को भाइ नेत्रमाथि प्रहरीले जताभावी मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै आफुहरु अन्यायमा परेको गुनासो गरिन् । उनले न्यायका लागि पटक÷पटक प्रहरीलाई अनुरोध गर्दा पनि सुनवाई नभएको उनले बताईन ।