धरान । गायक तथा सङ्गीतकार राम धामीको ५५ वर्षको उमेरमा निधन भएको छ ।
इटहरी, हवाईचोकका बासिन्दा धामीको आज आईतबार दिउँसो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । उनमा केही दिनअघि निमोनिया देखिएको थियो । कोराना संक्रमण भएका बीपी प्रतिष्ठानमा भर्ना गरिएका उनको केही दिनअघि कोरोना मुक्त भएको रिपोर्ट आएको थियो तर निमोनिया भएकाले प्रतिष्ठानको आईसियुमा राखेर उपचार भईरहेको थियो ।
सङ्गीत प्रतिष्ठान इटहरीका अध्यक्ष तथा सङ्गीत प्रशिक्षक समेत रहेका धामी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाका पूर्व सदस्य समेत हुन् । उनका श्रीमति र दुई छोरी छन् ।
उनको भोलि सङ्गीत प्रतिष्ठानमा श्रद्धाञ्जली अर्पणपछि भोलि अन्त्यष्टि हुने सङ्गीत प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले जानकारी दिए ।
धामीले एक सयभन्दा बढी गीतमा संगीत भरेका छन् भने दर्जनाैं गीतमा स्वर दिएका छन् । विशेषगरी थारू भाषाका उनका गीत चर्चित छन् ।