पथरी । संघीय सरकारले बिक्रीवितरणमा रोक लगाएका कारण सामुदायिक वनहरुमा घाटगद्दी गरि राखिएका काठ कुहिन थालेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–७ मा रहेको ग्रामिण सुधार सामुदायिक वनमा मात्र करिब एक करोड बराबरको काठ कुहिन थालेका छन् । उपभोक्तालाई बिक्रीबितरण गर्न नपाउँदा ग्रामीण सुधार सामुदायिक वनको घाट गद्दीमा रहेको १९ हजार १२७ क्युफिट काठ कुहिन लागेका हुन् । 

उपभोक्तालाई बिक्री वितरण गर्न नपाउँदा तीनबर्षदेखि काठ कुहिँदै गएको समूहका अध्यक्ष नवीन राईले बताए । विभिन्न कारणले ग्रामिण सुधार सामुदायिक वनमा भने तीनवर्ष यता काठ वितरण हुन सकेको छैन । 

घाटगद्दीमा राखिएका मध्ये तीन÷चार हजार क्युफिट कुकाठ (सखुवाबाहेक) कुहेर नष्ट भइसकेको र सालको काठ पनि दैनिक रुपमा गुणस्तर खस्किँदै गएको अध्यक्ष राईले बताए । बैज्ञानिक वन ब्यबस्थापनको बिषयलाई लिएर संघीय सरकारले काठ बिक्री बितरणमा देशभर रोक लगाएको छ । संघीय सरकारको निर्देशनको कारण तीनबर्षदेखि काठ वितरण गर्न नपाउदा समूहमा आबद्ध उपभोक्ताहरुले समस्या झेल्दै आएका छन् । घाटगद्दीमा काठ कुहिँदै गएका छन् भने उपभोक्ताहरुले घर बनाउन अभाव झेल्दै आएका छन ।

ग्रामीण सुधारको २० औं साधारणसभा

ग्रामीण सुधार सामुदायिक वनको शुक्रबार २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभामा अध्यक्ष नवीन राई र कोषाध्यक्ष देबेन्द्र थापाद्वारा प्रस्तुत गरिएको प्रगति तथा आर्थिक प्रतिबेदन पारित भएको छ । काठ बिक्री वितरण गर्न नपाएको कारण कार्यालय सञ्चालन, हेरालु लगायत कर्मचारीको तलबभत्ता, वृक्षा रोपण, संरक्षण विकास र बार्षिक साधारण सभाहरुको खर्च धान्न समस्या हुँदै आएको उल्लेख छ । संस्थाको लागि १८ प्रतिशत ब्याजले ऋण बिभिन्न ब्यक्तिबाट ८३ लाख ६५ हजार ५९८ ऋण लिएको उल्लेख छ । 

प्रगाति प्रतिबेदनमा ऐतिहासिक कानेपोखरीको बिकासमा पहल, सिमसार संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, पोखरीमा माछाको भुरा लगाएर आम्दानी बढाउन पहल गरिएको, वृक्ष रोपण गरिएको लगायतका बिषय प्रस्तुत छ । 

२०५६ सालबाट संरक्षण थालिएको ग्रामीण सुधार मोरङकै ठूलो क्षेत्रफल भएको सामुदायिक वन हो । ८३९.२२ हेक्टर क्षेत्रफल रहेको समूहमा ४ हजार ८ सय ६३ घर परिवार उपभोक्ता रहेका छन् । साधारण सभालाई कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले प्रमुखअतिथि, विषेश अतिथि सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश समिति सचिव अग्नि पौडेल, जिल्ला अध्यक्ष रामकृष्ण राई, पालिका ७ नम्बर वडा अध्यक्ष मोहन अधिकारी, ६ का खड्गबहादुर बस्नेत लगायतले शुभकामना दिएका थिए ।