धनकुटा । धनकुटा बजारमा आइतवार विहान विद्यालय जाने क्रममा ट्याक्टरले किचेर मृत्यु भएकी १५ वर्षीया छात्रा रेविका आठपहरियाका परिवारले ८ लाख रुपैयाँ क्षतिपुर्ति पाउने सहमती जुटेको छ । 

सोमवार जिल्ला प्रहरी कार्यालय धनकुटामा ट्याक्टर धनी, पिडित परिवार, स्थानिय जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु बीच छलफलपछि सहमती जुटेको धनपा–७ का वडाध्यक्ष जंङ्गवहादुर आठपहरियाले बताए । सहमतीपत्रमा तत्काल १ लाख रुपया किरिया खर्च वापत ट्याक्टर धनी नारायण विकले दिने र वाँकी रकम ७ लाख १ महिनाभित्र दिने सहमती भएको अध्यक्ष आठपहरियाले बताए । पिडित पक्ष र ट्याक्टर धनीविच क्षतिपुर्ति दिने र लिने विषयमा सहमती जुटेपछि छात्राको पिडित परिवारले सोमवार दाहसंस्कार गरेको वडा नं.८ का वडाध्यक्ष सुमन आठपहरियाले बताए । 

त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोख्रेलले ट्याक्टर धनिले किरिया खर्च १ लाख, विमा वापत आउने रकम ५ लाख र बाँकी २ लाख गरी जम्मा ८ लाखमा सहमती जुटेको बताए । अदालतमा दुर्घटना मुद्धा मिल्नु भन्दापहिले नै सम्पुर्ण क्षतिपुर्ति रकम दिलाई सक्ने सहमती भएको प्रअ पोख्रेलले बताए । पिडित परिवारका अभिभावकहरुको माग अनुसार त्रिवेणी माविमा लेखापाल पदमा कार्यरत ट्याक्टर धनि नारायण विकलाई आईतवार साँझ गरिएको निलम्बन समेत फुकुवा गरिएको जनाइएको छ । 

सहमती जुटेसंगै मृतक छात्रा रेविकाका परिवार, आफन्तले उचित क्षतिपुर्ति र लापार्वही गरेर ट्याक्टर चलाउने चालकलाई कडा भन्दा कडा कार्वाहीगर्नु पर्ने अडान राखेका थिए । दुर्घटना मुद्धा ऐन कानुन्ले तोकेवमोजिम सवारी चालकलाई कार्वाही हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले वताए ।