पथरीशनिश्चरे । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईंले यो पटकको आयोगले नेपालको भूमि सम्बन्धि सम्पूर्ण समस्या समाधान गर्ने बताएका छन् ।

केन्द्रीय सदस्यका हिसावले १ नम्वर प्रदेशमा आयोगका गतिविधि अघि बढाउँदै आएका गुरागाईंले मोरङको पथरी शनिश्चरे नगरको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको उद्घाटनका क्रममा सो कुरा बताएका हुन् ।

नगरपालिका कार्यालयको आयोजनामा दलका प्रतिनिधि तथा नगरपालिकाद्वारा गठित सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका अगुवाहरुसँगको अन्तरक्रियामा बोल्दै गुरागाईंले भने ‘यो पटकको आयोगले अव भूमि सम्बन्धी समस्या समाधान गरेरै छोड्ने छ ।’

उनले अघिल्ला आयोगका अधुरा कामहरु समेत सम्पन्न गर्ने आयोगको काम रहने पनि प्रष्ट्याए । १ नम्बर प्रदेशका पालिकाहरुमा बसोवास विवरण र तथ्याङ्क संकलन कार्य सुरु हुन थालेको जानकारी गराए ।

उनले भूमिहिन सुकुम्बासीका साथ साथै जोतभोग एउटाको भएको र पूर्जा अर्काैको भएको समस्या सहितका अव्यस्थित बसोबासीहरुको समस्या समाधानको काम एकसाथ थालिने बताए ।

‘समस्या आएको ठाउँमा स्थानीय सरकारको सिफारिसमा केन्द्रीय आयोग र सरकारको मन्त्री परिषदसम्म प्रतिवेदन पठाएर समाधान खोजिने छ ।’ उनले सहभागिले राखेका जिज्ञासाको जवाफ दिँदै सुझाव समेत ग्रहण गरेका थिए ।

कहीँ कतै आफ्नो परिवारको नाममा जग्गा नभएकाले ‘सुकुम्बासी’ र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने उनले जानकारी गराए ।

सुकुम्बासीले बढीमा ६ कठ्ठा र अव्यवस्थित बसोबासीले बढीमा डेढ विगाहा हाराहारी जग्गाको धनीपूर्जा प्राप्त गर्ने पनि उनले सुनाए । पथरीशनिश्चरे सहित १ नम्बर प्रदेशका २९ पालिकासँग पहिलो चरणमा समस्या समाधानका लागि काम अघि बढाउने आयोगले सम्झौता गरिसकेको छ ।

पहिलो चरणमा नेपालका १ सय पालिकाको काम अघि बढाउने पनि आयोगले जनाएको छ ।  

कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख एवम् आयोगका नगर सहजिकरण समितिका संयोजक दिलीपकुमार राईले आयोगलाई सहयोग र सहजिकरणका लागि नगरले प्रत्येक वडामा ३ जनाका दरले कर्मचारी नियुक्त गरेको र अव चाँडै नै विवरण र तथ्याङ्क संकलन कार्य अघि बढाइने जानकारी गराएका थिए ।

अन्तरक्रियामा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्षहरु गोविन्दबहादुर भण्डारी, कपिलमणि ढकाल, सुकुम्बासी आयोगका पूर्व जिल्ला अध्यक्ष मानप्रसाद लिम्बू, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका अध्यक्ष जहरमान लिम्बू, सचिव देवेन्द्र वनेम, नेपाली कांग्रेसका नगर सभापति टेकबहादुर थापा, जनता समाजसवादी पार्टीका एलबी भण्डारी सहित दलका प्रतिनिधिहरुले धारणा राखेका थिए ।

दल तथा सुकुम्बासीका अगुवाहरुले एउटाले जोतभोग गरेको जग्गा अर्काैले जालसाँझ गरेर पूर्जा निकालेको सन्दर्भ उठाउँदै सुकुम्बासी सहित जोगभोग र पूर्जावालाको समस्या पनि सँगसँगै समाधानमा अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।