धरान । मोटरसाईकल दुर्घटनामा परी धरानका एक युवाको मृत्यु भएको छ ।
हिजो शनिबार बेलुका इटहरीको आँपगाछीमा भएको दुर्घटनामा धरान १०का ३० वर्षीय विक्रम चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले इटहरीबाट धरानतर्फ आउदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार चेम्जोङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चेम्जोङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
सो मोटरसाइकलमा पछाडि सवार धरान–१० का ३२ बर्षीय साहिल तुलाधर गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको पनि वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । ट्रक चालक धरान–५ का ४३ बर्षीय अमरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।