यासोक । गत पुष २६ गतेको आगलागीबाट पा“चथरको कुम्मायक गाउँपालिकाका दुई घर नष्ट भए । वर्षौदेखि दुःख गरी कमाएको धन सम्पती एकै छिनमा खरानी भयो ।
सो घट्नाबाट सरबस्व गुमाएका पीडित परिवार अहिले सहयोगकै भरमा बिहान बेलुकाको छाक टार्दै आएका छन ।कुम्मायक १ स्थीत होक्लुम्बाका कृष्णबहादुर र डिगबहादुर थापाको दुई घरमा आग्जनी हुदा लाखौको क्षती भयो ।
आगलागीका कारण बिचल्नी भएको परिवारलाई स्थानीय सरकारदेखि बिभिन्न सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन ।
सोमबार अग्नी पीडित परिवारलाई जनसेवा समाज पाँचथरले पीडितको घरमै राहत बितरण गरेको छ । २० हजार बराबरको चामल, तेल, चाउचाउ र लत्ता कपडा सहयोग गरेको सेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
सेवा समाजको समन्वयमा स्थानीय समाजसेवी नविन ओझाले १२ हजार र फिदिम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइ हाल काठमाण्डौमा कार्यरत गुरुदत्त सुवेदीबाट ८ हजार गरी २० हजार बराबरको राहत बितरण गरिएको अधिकारीको भनाइ छ ।
आगलागीबाट दुबै घरमा भएको ४० लाख बढिको अन्नपात, भाडावर्तन, लत्ताकपडा, सुनचाँदी र नगद जलेर नष्ट भएको थियो । घरमा राखेको ७० मुरी धान, मकै, बदाम, नगद, सुनचाँदी र सखुवाको काठ जलेर नष्ट भएको पीडित कृष्ण बहादुर थापाले बताए ।
दुबै घर र ग्वालीमा एकै साथ आगो लागेपछि कुनै पनि सामान जोगाउँन नसकेको बताउँदै छिमेकी, सहयोगी दाता र गाउँपालिकाको सहयोगमा परिवारको गर्जो टार्दै आएको थापाले सुनाए । आगलागीका कारण दुई वटा घर र दुई वटा ग्वाली जलेर नष्ट हुदा ९ जनाको परिवार बिचल्नी भएको छ ।
आगलागीको कारण बिचल्नी भएको परिवारलाई नेकपा कुम्मायक संगठन कमिटिले २८ हजार ७ सय २० रुपैया सहयोग गरेको छ । त्यस्तै रेडक्रस सोसाइटी उपशाखा यासोकले त्रिपाल, खाद्यान्न लगायत सामाग्री बितरण गरेको थियो ।
यता कुम्मायक १ को वडा कार्यालय यासोकले पनि खाद्यन्य सहयोग गरेको छ । अग्नी पीडित परिवालाई ओत लाग्ने ठाउँको व्यवस्थापन गर्न तत्काल जस्तापाता उपलब्ध गराउँने तयारी भएको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
‘हामीले दुबै घरलाई पुग्ने गरी जस्तापाता बितरण गर्न लागेका छौ ।’ जति सक्दो छिटो घर छाउँने अवस्थाको बनाउँन समुदाय र पीडित परिवारलाई आग्रह गरेको अवस्था छ उनले भने ।
यसैगरी गाउ“पालिकाले पनि पीडित परिवारलाई बिपत व्यवस्थापन कोषबाट नगद २५ हजारको दरले ५० हजार रुपैया“को राहत प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र प्रशासकीय अधिकृत देबेन्द्र कटुवाल सहितको टोलिले राहत स्वरुप उक्त रकम बितरण गरेको हो । पीडित परिवारलाई सो रकमले राहत मिल्ने बिश्वास लिएको अध्यक्ष चेम्जोङले बताए ।