बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले बालबालिकालाई बिद्यालय भर्ना गर्न समयमा पुर्ण खोप सुनिश्चितता भएको प्रमाण पत्र अनिवार्य गर्ने तयारी गरेको छ । 

नियमित खोप नलगाएका कारण बालबालिकामाथि बिभिन्न रोगको संक्रमण हुने भएको हुनाले पुर्ण खोप सुनिश्चित भएको पत्र अनिवार्य गर्न लागिएको हो ।

बालबालिकालाई बिद्यालय भर्नाको समयमा जन्मदर्ताको प्रमाण पत्र अनिवार्य छ । सो पत्र जस्तै अब पुर्ण खोप सुनिश्चितताको पत्र पनि समावेश गर्नुपर्ने नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले भने–‘यसका लागि नगरपालिकाको बोर्ड बैठकबाट निर्णय गराएर कार्यान्वयनको चरणमा जान्छ ।’ उनले पुर्ण खोपको अनिवार्यताका कारण ‘ड्रप आउट’ नियन्त्रणमा आउने दावी गरेका छन् ।

जन्मेदेखी १८ महिनाको हुँदासम्म बालबालिकालाई १७ वटा खोप लगाउँदा पुर्ण खोप भएको मानिनेछ । पछिल्लो पटक यसबर्ष मात्र रोटा भाइरस बिरुद्धको खोप समेत लगाउन थालेपछि १७ वटा खोपलाई पुर्ण खोपको मापदण्ड बनाइएको हो ।

नगरपालिकामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरुले पुर्ण खोपसँगै सरसफाई प्रबद्र्धन कार्यक्रम अन्तर्गतका स्वस्थ्यकर व्यवहारहरु कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर स्वास्थ्य शाखाद्वारा आयोजित नियमित खोप सुदृढीकरण एवम् पूर्ण खोप सुनिश्चतता तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमका सहभागी जनप्रतिनिधि, स्वास्थ्यकर्मीले स्वस्थ्यकर व्यवहार कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘स्वच्छ परिवार सुखको आधार’ भन्ने नारासहित नमूना परिवार बनाउने उद्धेश्यले आयोजित कार्यक्रममा स्वस्थ्यकर व्यवहारहरुमा ६ महिनाको उमेरसम्म स्तनपान मात्र गराउने, राम्ररी पकाएको र सुरक्षित खाना खुवाउने, साबुन पानीले मिचिमिचि हात धुने, दूध र पानी उमालेको मात्र खुवाउने, सधैं सफा चर्पीको प्रयोग गर्ने तथा बच्चाको दिसा चर्पीमा मात्र फाल्ने, बच्चालाई १५ महिनाको उमेरभित्र लगाउनु पर्ने र सबै खोप तोकिएको तालिकाअनुसार लगाउने रहेका छन् । नगर उपप्रमुख कमला खतिवडा आचार्यले प्रतिबद्धता वाचन गरेको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका खोप कार्यक्रम प्रमुख बालकृष्ण भण्डारीले गरेका थिए ।