यासोक । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्र रबि बजारमा निर्माणधिन आवशिय भवनको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको सहयोगमा निर्माण सुरु भएको योजनाको काम अन्तिम चरणमा पुगेको हो ।

प्रदेश सरकारको ३ करोड ८५ लाख, १ हजार ७ सय ४२ रुपैयाँमा भवन निर्माणको काम हुदै आएको छ । सहरी बिकाश भवन कार्यालय इलामले ३ वर्षमा पूरा गर्ने गरी याक्थुङहाङ आले जेभीलाई २०७६ सालमा ठेक्का दिएको थियो ।

ठेक्का पाएको निर्माण कम्पनीले २०७८ साल भित्रमा योजनाको काम पूरा गर्नु पर्ने हुन्छ । हालसम्म योजनाको काम ७५ प्रतिशत पूरा गरेको र २५ प्रतिशत काम गर्न बाँकी रहेको सहरी बिकाश तथा भवन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रले बताए ।

निर्माण कम्पनीले हालसम्म कार्यालयबाट  १ करोड ८५ लाख रुपैयाँ भुक्तानी पाएको छ । रकम अभावले यो चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मात्रै प्राप्त गर्ने मिश्रको भनाइ छ । 

भवन निर्माणको लागी स्थानीय जग्गादाताहरुले २४ लाख मुल्य बराबरको ८ रोपनी जग्गा निशुल्क दान गरेका छन । 

स्थानीय हेमबहादुर तामाङ र लिलामाया तामाङले ६ रोपनी र मनमाया तामाङले २ रोपनी गरी २४ लाख मुल्य बराबरको ८ रोपनी जग्गा निशुल्क दान गरेका हुन ।

आठ रोपनी क्षेत्रफलमा भवन निर्माणको काम हुदै आएको छ । यता गाउँपालिकाको कार्यालयबाट पनि आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।

भवन निर्माणको लागि स्थानीय जग्गादाता देखि योजनाको काममा आवश्यक समन्वय गर्ने काम भइरहेको छ माखिमले भने, योजनाको काम पूरा गर्न केही समय लाग्ने भएको छ ।

भवन निर्माणपछि गाउँपालिकालाई थप सहयोग पुग्ने उनको भनाइ छ । जिल्लामा प्रदेश सरकारले कुम्मायक गाउँपालिकाको यासोक र मिक्लाजुङ गाउँपालिकाको रबि बजार गरी दुई स्थानमा आवशिय भवन निर्माणको काम गर्दै आएको छ ।